लेख/रचना

  • नेवार पहिचान
    लक्ष्मण राजवंशी
    २०६८ वैशाख २९ गते बिहीवार नेपाल सम्वत् ११३१ बछलाथ्व९ May 12, 2011

    नेवार पहिचान
    नेवारको पहिचान भन्ने बित्तिकै दर्शनको कुरा आउछ । अनि त्यसपछि मात्र संस्कृतिको कुरा आउछ । नेवार संस्कृति दर्शनको एउटा पक्ष हो । संस्कृति मानिसहरुको व्यवहार, आचारविचार र संस्कार हो भने जीवन जगत्वीचको आपसी सम्बन्धलाई हेर्ने दर्शन हो । प्रत्येक वस्तु र प्राणीका विकास र विनाशका क्रममा देखा परेका असरबाट केकस्तो परिणाम निक्लन्छ भन्ने कुरा देखाउनु नै दार्शनिक निष्कर्ष हो भन्ने बुझ्नुपर्छ ।
    मानिसको आफ्नो पहिचान भन्नु नै आफुले स्वीकार्दै आएको संस्कृति हो ।

    सबैभन्दा पहिले नेवार दर्शन के हो भन्ने कुरा बुझेमा नेवार संस्कृति बुझ्न गाह्रो पर्दैन । नेवारहरुल्े कुनै व्यक्ति वा शक्तिलाई देवता मानेका छैनन् । वास्तवमा मानिस निहित शक्ति नै मानिसलाई देवस्थानमा राख्ने ऊर्जा हो । त्यस्तो शक्ति प्राप्त गर्न साधनाको आवश्यक पर्छ र त्यही शक्तिबाट आफुलाई देवस्थानमा स्थापित गर्न सकिन्छ । यही नै नेवार दर्शनको विशेषता हो । त्यसैले नेवारहरु मर्दैनन् भन्ने गरेको पाइन्छ । मानिसले यो चोला फेर्ने बित्तिकै उसले आफ्नो कुलको रक्षा र उन्नतीका निम्ति विभिन्न क्षेत्र र ठाउठाउमा बसी रक्षा गर्छ भन्ने कुरामा नेवारहरुको आस्था छ । अजिअजिमा र अजा कुलका आदरणीइ पूर्वजहरु हुन् जसलाई देवता मानी पूजा गर्ने, वर्षको एकचोटी भए पनि उनीहरुको गुण सम्झी जात्रा गर्ने परम्परा आजसम्म पनि यथावत नै छ । ठाउठाउमा रहेका अजि अजिमा र अजा (भैरव देवता)लाई नेवारहरुले पूर्वजका रुपमा मान्दै आएका छन् । दीक्षा भएकाहरु अर्थात् मान्छेमा निहीत आफ्नो शक्ति प्रयोग गर्न दिक्षित भइसकेकाहरुलाई एकै ठाउमा आफुले भनेजस्तो आफै र अझ समयलाई समेत वशमा राख्न अभ्यास गर्ने गह्य ठाउलाई आगंछे भन्दै आएको पाइन्छ । नेवार कुलमा एक्लाएक्लै महिला वा पुरुषलाई दीक्षा दिने चलन छैन । दम्पत्ती दुवै मिति दिक्षित हुनुपर्छ । यसो भन्नु महिला पुरुष दुवै मिलि आफुमा निहीत शक्तिलाई आफुले चाहेजस्तै प्रयोग गर्नु हो । यो नै आगंज्या हो । यो नै नेवार धर्मदर्शन हो ।

    बाहिरबाट भित्रिएको हिन्दुर्धले उपत्याकाका धर्म दर्शनलाई ओझेलमा पार्दै लाग्यो । कालान्तरमा हिन्दूदर्शन र संस्कृतिको रङले नेवारधर्मको आफ्नोपन नै नदेखिने गरी पोत्यो । बाकी नेवारदर्शनलाई बौद्ध दर्शनले पनि प्रभावित पायो । यसप्रकारले नेवारहरु हिन्दु नेवार र बौद्ध नेवार भई विभाजित भए । श्रेष्ठ सम्प्रदायभित्रका प्रधान, मास्के, जोशी, कर्माचार्य, राजलवट भए । श्रेष्ठ सम्प्रदाय भित्रका प्रधान अनि वज्राचार्य, शाक्य, तुलाधर, ज्यापु, मानन्धर, तण्डुकार आदीलाई बौद्ध भन्ने गरियो । राम्ररी अध्ययन गर्ने हो भने हिन्दु र बौद्ध भनिएका नेवारहरु न पूर्णरुपले हिन्दु बन्न सके न बौद्ध नै । तथापि उनीहरुबाट नेवार दर्शनबाट अलग भए पनि नेवार संस्कृतिमा यति भिजिसके कि उनीहरु नेवार संस्कृतिबाट टाढा हुन नै सकेनन् । यसको मतलब अन्य कुनै पनि दर्शनबाट प्रभावित संस्कृतिको छाप नेवार संस्कृतिमा नपरेको भन्ने होइन ।

    दर्शनबाट दिग्भ्रमित भएर अन्धविश्वास, रुढिवादीको मैदानमा पछारिएका मानिसहरु आज पनि संसारभरि थुप्रै छन् । यस्तै अन्धभक्तहरुबाट फाइदा उठाइरहेका वर्गहरुले धर्मदर्शनलाई स्वाठ, बहिरो, हुस्सु र लाटो बनाई नजानिदो किसिमले धर्मका नाउमा चाहिदो नचाहिदो कर्म गर्ने र गराइरहेका छन् । यस्ता मानिसहरुलाई दर्शनको भुलभूत कुरा बुझाउन सकेमा मात्र दार्शनिक आधारबाट सञ्चालित संस्कृतिबारे बुझाउन सकिन्छ । अन्यथा बिरालो बाधी श्राद्ध गरेझैं बाजेबराजुहरुले जसरी गरे उसै गर्नु सिवाय किन, के, कसरी, कहिले भन्ने कुराको सोधीखोजी गर्ने कुनै उपाय हुदैन । त्यसैले नेवारहरुले नै हामी को हौं ? हाम्रो दर्शन के हो ? अनि हामीले मान्दै आएको संस्कृतिको मूल्य के ? हामीले मनाउदै आएको चाडपर्व, जात्राको महत्व के ? आदी कुराहरु बुझ्नु र नेवारहरुवीच नै यस किसिमको सरसल्लाह हुनु आवश्यक छ । यस सानो पुस्तकको उद्देश्य पनि वास्तवमा यही हो । संस्कृति भनेको एकप्रकारको जीवनपद्धति हो । संस्कृति जीवनसंग कहिल्यै अलग रहदैन । मानिसहरु सुखपूर्वक जिउन चाहन्छन् । अनि जिउने क्रममा मानिसहरुले आफ्नो इच्छापूर्ति गर्न विभिन्न मार्ग अवलम्वन गर्छन् । त्यही विभिन्न मार्ग मध्ये एउटा मार्ग नेवारहरुको एउटा जीवन जिउने पद्धति पनि हो ।

    हामी विभिन्न मार्गमध्ये एउटा मार्ग नेवारहरुको एउटा जीवन पद्धति पनि हो ।हामी विहान उठि मुख धुन्छौं । यसो गर्नु हाम्रो शरीरलाई सफा सुग्घर राख्ने हो । तर यहायसलाई नै एउटा संस्कार अथवा रुढिका रुपमा लिइरहेको पाइन्छ । समयको गतिसंगै यसप्रकार शुद्धता ल्याउने काम पनि सांस्कृतिक अंग जस्तै बन्न पुगेको छ । मुख धुले बेलामा सुर्यतिर हेरी एक अंजुली पानी चढाउने कार्य अन्धरकार रात छिचोली प्रकाशमय गरे वापत सुर्यलाई कृतज्ञता व्यक्त गरेको भनि बझ्नु पर्ने हुन्छ । तर यो कार्य प्रकृति चिनाउने हो भन्ने नबुझी यस कार्यलाई संस्कृतिका रुपमा विकास गरियो । संस्कृति भनेको एउटा जात, सम्प्रदाय आदीको भिन्नै रीतिरिवाज आचरण हो । माथि उल्लेख भएझैं मानिसको परिचय भन्नु नै उसले मान्दै आएको संस्कृति हो ।

    मान्छेलाई चिन्ने एउटा आधार उसले बोल्ने भाषा पनि हो । यसप्रकारले नेवार चिन्ने एउटा प्रामाणिक आधार उसले बोल्ने नेपाल भाषा हो । विगतको इतिहासले बताइरहेको छ आभीर, किरात र लिच्छिविदेखि विभिन्न जाति उपत्यकामा प्रवेश गरी नेपालभाषा बोलेर उनीहरु नेवार बनेका छन् । तर आज आएर उपत्यका बाहिर बस्नेमात्र नभई उपत्यकाभित्रका नेवारहरुले समेत विविध कारणले नेपाल भाषा बोल्न छाड्दै जान थाले ।

    नेवार जातिको परिचय नेवार संस्कृति हो र संस्कार पनि हो । यहानिर विचार गर्नुपर्ने कुरा भाषा र संस्कार अझ भनू भने जात समेत फेरिएको अवस्थामा नेवार हो वा होइन भनी पहिल्याउन त्यस्ता विशेषताहरु छन् जुन हराइसकेका छैनन् र हराउने पनि छैनन् । नेवारहरुको आफ्नै किसिमका खानपान, गहना, भाडाकुडा, बासस्थान, मानमनितो, चाडपर्व र विधि व्यवहारहरु छन् जुन अन्य जातिहरुमा पाइदैन । यीमध्ये कुनै पनि व्यवहारमा ल्याएका छन् भने भाषा नबोले तापनि अथवा बिर्से तापनि उनीहरु नेवार नैहुन् । (नेवाः पुचः, बाँकेको स्मारिकाबाट)





अन्य समाचारहरु