समय सन्दर्भ

  • तमासामय राजनीति
    -खगेन्द्र गिरि कोपिला
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    तमासामय राजनीति
    हाम्रो देशको राजनीतिमा धेरै तमासाहरु हेर्न पाइन्छन् । २०६३ सालमा राजतन्त्रलाई विस्थापित गरि गणतन्त्र ल्याइएपछि त देशको राजनीति नै पूर्ण रुपमा तमासामय बन्न पुगेको छ । रामराज्यको आश गर्ने नेपाली समाज बाबुराज्य भोग्न विवश छ । दुई महिना अगाडी बाबुराम भट्टराईलाई प्रधानमन्त्री निर्वाचित गरेपछि उनको लहर चल्यो । न भुतोः न भविष्यतिः भने जस्तै उनलाई नेपालका सम्पूर्ण रोग र विकृतिहरुको उपचार गर्ने डाक्टर रुपी चमत्कारिक अवतार बनाइयो । सत्तामा जानेहरुलाई गाली गर्ने मात्र बानी परेको नेपाली समाजका डा. बाबुराम भट्टराईको प्रशंसाको बाढी आफैमा एउटा चमत्कार भन्दा कम थिएन ।


    अन्ततः डा. बाबुराम भट्टराइले पनि आफ्नो कार्य शैलीलाई जुन जोगी आएपनि कानै चिरेका भन्ने नेपाली उखानमै विगतका प्रधानमन्त्रीहरुकै बाटोमा डोयाएर चमत्कारको आशलाई तमासामा रुपान्तरण गरेका छन् । मुस्ताङ गाडीको मितव्ययिताको नाटक चियापानको सत्ताइस लाख खर्चमा आएर टुङ्गियो । सरकारी खर्च कटौतीको दावा उनान्पचास जना मन्त्रीको हुलले एउटा चुट्किलामा परिणत हुन पुग्यो । राष्ट्रवादको चर्को नारा विप्पा सम्झौतामा आएर तुहियो ।


    कुनै पनि देशका इमान्दार प्रधानमन्त्रीहरु आफ्नो देशको हित हुने सन्धि सम्झौता गर्छन् । तर भारतीयहरुले नेपालमा गरेको लगानीको संरक्षण गर्ने, तर भारतमा लगानी गर्ने नेपालीहरुको हितको विषयमा मौन रहेको विप्पा सम्झौताले नेपालको प्रगति हुन्छ भनेर यिनै प्रधानमन्त्रीले दावी गर्छन् । देशको सामु आफ्नो इमान्दारिता र बफादारिताको शपथ खाएका प्रधानमन्त्रीको मुखबाट यस्तो सुनिनु भनेको एउटा राजनैतिक तमासा नै हो ।


    संसदीय प्रणालीमा सत्तारुढ भएका पार्टीहरुले काम गर्छन् र विपक्षीहरुले त्यसको अनुगमन सुपरिवेक्षण गर्छन् र सचेत गर्छन् । नेपाल अहिले संक्रमणकालमा भएपनि राजनैतिक परिपाटी भने बहुदलीयसंसदीय नै छ । तर नेपालमा सत्तारुढ भएकाहरु प्रतिपक्षीको भाषा बोल्छन् भने प्रतिपक्षीहरु सरकारी निर्णय प्रक्रियामा हस्तक्षेपकारी भाषा बोल्छन् ।

    सत्तामा बसेकाहरुकै जरा काट्न खोज्नु सामान्य कुरा हुन थालेको छ । हरेक पार्टीहरुका गुट उपगुटहरुको भाषा, लक्ष्य, नीति र गन्तव्य फरकफरक देखिन लागेका छन् । पार्टीको नेतृत्व एउटाको हातमा र त्यो पार्टीको नीति लागु गर्नैपर्ने दायित्व तथा जवाफदेहिता भन्ने अर्को नेताको टाउकोमा बोकाइने गरेकोछ । आफ्ना दोषहरु लुकाउन गल्तीहरु ढाकछोप गर्न र अपराधहरु पखाल्न, दक्षिणपन्थी, प्रतिगामी र राजावादीहरुको शब्दावली आगाडी ल्याएर राजनीतिको मूल धारबाट किनारा लागिसकेकाहरुलाई गाली गरिन्छ । यस्तो जिम्मेवारीवोधको अभाव भएको नेपालको समकालीन राजनीति केवल तमासा बन्न पुगेको छ । ०००





अन्य समाचारहरु