समय सन्दर्भ

  • यस पटकको केवल कार
    -खगेन्द्र गिरि कोपिला
    २०६८ कात्तिक २९ गते मंगलवार November15, 2011

    यस पटकको केवल कार
    कोहलपुरको बसपार्कमैँशुरुमैँ मेरो साइत बिग्रियो । मलाई जानु थियो काठमाडोँ तर, बसका स्टाफहरुले मलाई चढाइदिए नारायणघाट जाने बसमा । काठमाडौँजाने बसभन्दा नारायणघाट जाने बसले छिटो पुयाउँछ भन्ने बसका स्टाफहरुको कुरालाई पत्याएर म पनि उनीहरुले जेजे भने त्यहीत्यही गर्न पुगेँ ।

    कोहलपुरको बसपार्कमा उभिएर बसका स्टाफहरुको कहाँ जाने ? भन्ने प्रश्नको जबाफ दिईदिई टाउको दुखाउनु भन्दा बरु बसमै चढेर गाना सुन्दै बाटो काट्नु राम्रो लाग्यो मलाई । हिजै काठमाडौँ जाने क्यापिटल बसको टिकट किनीसकेको मजस्तो लठुवालाई निर्धारित साढे छ बजेको समयभन्दा पहिल्यै आफ्नो बसमा चढाएर लान पाएकोमा नारायणघाट जाने बसको स्टाफ पनि दङ्गदास थियो । सोच्यो होला बिहान बिहानै आज एउटालाई त मुर्गा बनाइयो । क्यापिटलको टिकटलाई आफ्नो बसमा कसरी पायो ? त्यो कण्डक्टर नै जानोस् ।

    भन्दै थियोदाईलाई म नारायणघाटबाट काकरभित्ताको बसमा चढाएर काठमाडौँ पठाइदिन्छु नि, यी क्यापिटल त भन्नु मात्रै हुन् तपाइँ त्यो भन्दा छिटै पुग्नु हुन्छ । मलाई लाग्छ नेपालका सबै छट्टु र बाठा मान्छेहरु बसको लाइनमैँ काम गर्छन् कि क्या हो ? कति सजिलै सित मान्छेलाई फकाउछन् ? कति सजिलैसित कुरा मिलाउछन्? बसमा हिड्न थालेपछि यस्तो लाग्छ मानौँ हामी यात्रुहरु भेडा हौं र बसका स्टाफहरु सल्यानी बङ्गलाका बुचर हुन् ।


    मिनी बसका साँगुरा सिटहरु, यात्रुको कोचाकोच, भदौरे उखरमाउलो गर्मी र तीजका गीतहरुको कर्कश आवाज झेल्दै यो मन एकतमासले दुगुरिरहेको छ । यो बाटो सयौँ चोटी ओहोरदोहोर गरिएकोले दायाँ बायाँका दृष्यहरुमा म कुनै नवीनता, कुनै जीवन्तता वा कुनै आर्कषण भेटिइरहेको छैन । एक जना विद्वानले भनेका छन् तिमी एउटा नदीलाई जति चोटी तछौँ उतिचोटी नया पनको अनुभूति गछौँ । किनकि नदी उही भएपनि हरेक पटक पानी भने अकैँ हुन्छ । म आज यही भनाईलाई सम्झिरहेको छु र महेन्द्र राजमार्गको आजको यस यात्रासित त्यस भनाईको तादाम्यता जोड्न खोजिरहेको छु । हुन त बाटो उही भएपनि हरेक पटकका यात्रामा यात्रु त फरक हुन्छन् । फेरि आज मलाई किन यो यात्रामा नौलोपनको अनुभूति हुन सकेन?


    जसोतसो साढे तीन बजेसम्म नारायणघाट पुगियो । अब मलाई बसका स्टाफको भर पर्न मन लागेन । आफ्नो बाँकी भाडा फिर्ता मागेर ओर्लिएँ । बसका स्टाफलाई यात्रुले आफ्नो पैसा फिर्ता मागेर दिनु पयो भने आफ्नै पुख्र्याली सम्पत्ति दिनु परेजस्तो लाग्दोरहेछ । बडो आनाकानी र बहाना गरिगरि उसले मुस्किलले मेरो पैसा फिर्ता दियो । यात्रुको सुविधाको ख्याल गर्ने र यात्रुसित सम्मानजनक व्यवहार गर्ने चलन नेपालको यातायात क्षेत्रमा कहिले आउला? देशमा आर्थिक उदारबाद भित्रिएपनि व्यापारिक सभ्यतामा भने अनुदारबाद हावी भएको छ । विदेशी सिद्धान्तसित नेपाली चरित्रको वर्णशङ्कर युजन नगरिएको कुन क्षेत्रमा छैन र ?


    नारायणघाट पुगेपछि सर्वप्रथम पुष्प अधिकारी अञ्जली ज्यूलाई फोन गरेँ । उहाँ प्रभाकर पण्डितजीको कार चढेर पोखरा गैसक्नु भएको रहेछ । धनराज दाजु आमा स्वर्गे भएर आशोच बस्नु भएको रहेछ । विनोद अनुजको मोबाइल अफ । यसपछि एकाएक मेरो पनि ब्रह्मज्ञान खुले जस्तो भयो र मैले निर्णय बदलेँ । काठमाडौँ होइन, आज किन मनकामना नजाउँ? पूर्व निर्धारित कार्यक्रम भन्दा आकस्मिक कार्यक्रमहरुमा सरिक हुदाको आनन्द पनि छुट्टै हुन्छ । म लागें गोरखा जाने बसमा चढेर मुङ्लिङतिर ।


    मुङ्लिङमा झर्दा मन चङ्गा थियो । फर्सीका दानाजत्रा नासपाती किनेर खाइयो । मुङ्लिङबाट ६ किलोमिटर टाढा केवलकार भन्ने ठाउसम्म जान भने सवारी साधनको निकै समस्या पर्दोरहेछ । काठमाडौँ जाने लङ्ग रुटका बसहरुले लोकल यात्रु भनेर लैजान नमान्ने । लोकल जीपहरुको समय र भाडाको ठेगान नहुने रहेछ । केवलकार सम्म जाने यात्रुहरुले लङ्ग रुटका बस या ट्रकमा जान खोज्यो भने लोकल जीपका स्टाफहरु यात्रु खोस्न र हकार्न आउदा रहेछन् । लोकल जीपका यी स्टाफहरुको पोज र फुर्ती नेपाली सेनाका जर्नेल वा माओबादी जनसेनाका कमाण्डरहरुको भन्दा कम देखिएन । सोधेको कुराको जबाफ पनि नदिने, दिइहाल्यो भने पनि रुखो र झर्केको आवाजमा दिने । राम्ररी पढ्न नसकेका र भविष्यको कुनै टुङ्गो नभएका यी जीपका स्टाफहरुले देखाउने यो पोज र फुर्तीको असली कारण भने के रहेछ? मैले ठम्याउन सकिन ।

    धेरै वर्ष पहिले मैले यौटा हिन्दी फिल्म हेरेको थिएँतहल्का । त्यसमा अमरिश पुरीले साका भन्ने यौटा खतरनाक भिलेनको रोल खेलेका थिए । साकाको राजधानी थियो डोङरिलाजोङ । डोङरिलाजोङ ओरीपरि पहाडैपहाडले घेरिएको विकट र अनकन्टार ठाउँ थियो, जहाँ साकाकै कानुन लाग्थ्यो । निकै बेरसम्म मुङलिङको सडकमा उभिदा मलाई लाग्यो नियम कानुन र जिम्मेवारीबोधको तहभन्दा माथि देखिने यी जीपका स्टाफहरु पनि कतै साकाका नेपाली अवतार त हैनन? यो मुङलिङ पनि कतै त्यही तहल्का फिल्मको डोङरिलाजोङ त हैन?


    मान्छे, कुखुरा, बोका र सरसामानहरुले भरिएको यौटा थोत्रो र भरिभराउ जिपको डण्डि समातेर बल्ल बल्ल केवलकार भन्ने ठाउँमा पुगेपछि अर्को जुनी पाएजस्तो लाग्यो । धन्य मनकामना माता सुरक्षित ल्याइदियौ यहाँसम्म त्रिशुली नदीको खोंचमा मनकामना जाने केवलकार (रोपवे) को तल्लो स्टेशन बनाइएको रहेछ । रङ्गीचङ्गी फूलहरुले ढाकिएको बगैँचा, वरीपरी व्यवस्थित गाडी पार्किङ, सुरुचिपूर्ण भवनहरु अनि सिढीदार बाटो भएर स्टेशनको टर्मिनल हलमा उक्लिने यात्रुहरुलाई कालो पाइन्ट, सेतो सर्ट र टाईमा सजिएका कर्मचारीहरुले हसिलो मुस्कानले स्वागत गर्दारहेछन् । विद्युत्ततरङ् छोडिएको मोटो तारमाथि झुण्डिएको केवलकारले त्रिशुली नदी तरेर एकैचोटी पारीपट्टिको डाडोको पाखोमा सुरुरु माथि लैजादा आङग जिरिङ्ग हुँदो रहेछ । सिसाका बन्द झ्यालबाट हरिया पाखाहरु र तल त्रिशुली नदीको विहंगम दृश्यावलोकन हेर्दै यात्रुहरुले नेपालको प्राकृतिक छँटाको झलक हेर्न पाउनु मनकामनाको केवलकारको आफ्नै विशेषता हो ।


    करिब दश मिनेटपछि केवलकारले मनकामना पहाडको टुप्पोमा रहेको माथिल्लो स्टेशनमा उतायो । मनकामनाको तल्लो स्टेशन समुद्र सतहदेखि २५८ मिटरको उचाईमा र माथिल्लो स्टेशन १३०२ मिटरको उचाईमा छ । केवलकारको कुल लम्बाई करिब ११ किलोमिटर छ । माथिल्लो स्टेशनमा भने तल्लो स्टेशनको जस्तो सजावट देखिएन । स्टेशनबाट बाहिर निस्किएपछि मनकामना मन्दिरतिर जाने साँगुरो गल्लीमा पस्दा जताततै फालिएको फोहोरले मनकामनाको वर्णन सुनेर पहिलोपल्ट पुगेको यात्रुको मन कुँडिन पुग्छ । होटलबालाहरुले यात्रुलाई दिक्कै लाग्ने गरि बोलाएर सताउँदाको झण्झट पनि आफैमा छ । मैले भने आफूलाई नबोलाएको होटेलमा पस्ने निधो गरें । सामान्य खाले होटेलको आन्तरिक सरसफाई र खानपिन भने ठिकठिकै रहेछ । साझपख घाम डुब्ने बेलामा मनकामनाको टुप्पोबाट वरीपरिको दृश्यावलोकन गर्दै सूर्यास्त हुन लागेको क्षणको साछी बस्नु आफैमा आनन्ददायक हुँदोरहेछ । राती भने सिरसिर बतास चल्ने भएको हुदा त्यहा अलि बढि नै चिसो अनुभव भयो ।


    विहानपख चिसो पानीमा हतारमा नुहाएर पुजाको सामान किनी मन्दिर पुग्दा त्यहाँ बल्ल सरसफाई गरिदै थियो । निकै ढिलो अल्छि माने जसरी पूजारी आइपुगे । बिहान पुजारीले विधिवत पूजा नगर्दासम्म अरुलाई पूजा गर्न नदिने चलन रहेछ । बल्लबल्ल पूजारी आएपछि बाजा बजाउने गन्धर्वहरु बेपत्ता । बल्ल बल्ल सबै जम्मा भए पछी मनकामनाका मगर पुजारीले संस्कृतका श्लोक भट्टयाएर पुजा गर्न थाले । मन्दिरको गर्भगृहमा पुजारीले पुजा गरीरहँदा बाहिर गन्धर्वहरुले दमाहा ढोल र नगाडा बजाउदा मन्दिरको रौनक आनन्दायक बन्यो । त्यतिञ्जेलसम्म पुजा गर्नेहरुको लाम लागिसकेको थियो । मनकामनामा सस्कृत पढेका मगर पुजारीले पुजा गर्ने परम्परा पृथ्वीनारायण शाहकै पालादेखिको रहेछ ।


    उहिले राजाका पालामा पुजारीहरुले बिहानै चार बजे उठेर मन्दिरको नित्य पुजा गरिसकेका हुन्थे, लोकतन्त्र आएपछि त पुजारी पनि अल्छि भएका छन्, कसैलाई कसैको डर रहेन अब निकैबेर सम्म लाममा उभिनु परेको आक्रोश पोख्दै थिए एक जना बृद्ध । नित्य पुजामा पनि किन यस्तो ढिलाई? भनेर जिज्ञासा राख्दा गन्धर्वले आफ्नै समस्या पोखके गर्नु हजुर, उहिले मन्दिरमा बाजा बजाए वाफत सत्र मुरी धान पाउँथ्यौँ, वर्ष भरी परिवारको गुजारा चल्थ्यो, अचेल दिनको दुई सय मात्रै पाइन्छ, त्यो पनि चारजनाले बाड्नु पर्छ ।


    मनकामनाका पुजारीले हरेक मानिसको हातबाट पुजासामाग्री लगेर सोधीसोधी मन्त्रोच्चारणका साथ विधि पुयाएर पुजा गराईदिदा रहेछन् । मन्दिरभित्र शान्त वातावरण कायम राखेर सबैलाई पालो दिएर पुजा गराउनु मनकामनाको सबल पक्ष मान्नुपर्छ। शाहबंशीय राजाहरुकी आराध्य देवी मनकामनालाई शक्तिकी देवी मानेर होला यहाँ बली चढाउने र पूजा सामाग्रीका साथ कुखुराको अण्डा पनि चढाइदोरहेछ । देवी नै मांसाहारी भएपछि मनकामनाको टुप्पोमा मदिराको बिक्रीलाई कसले रोकोस्? तर नेपालको एकिकरण गर्नको लागि पृथ्वीनारायण शाहलाई आर्शीबाद दिएकी देवी भनेर निकै महिमावर्णन गरिएकी मनकामना माताको आँगनमा मासु र मदिराको यसरी खुलेआम व्यापार हुनु नसुहाएको विषय जस्तो लाग्यो मलाई त । मनकामनालाई मारकाट, मासु र मदिरानिषेधित क्षेत्र बनाउन सकेको भए यो स्थलको झन् महिमा बढ्ने थियो । यस स्थलमा शाकाहारी भोजनालय भने यौटा मात्र रहेछ त्यो पनि तराईबासीले खोलेका रहेछन् ।


    उहिले उहिले आबुखैरेनी बजारबाट मरस्याङ्दी नदी तरेर मानिसहरु करिब छ घण्टाको ठाडो उकालो चढेर मनकामना आइपुग्थे । उकालो भरी स्थानिय मानिसहरुको ससानो व्यापार चलेको देखिन्थ्यो । घोडा र खच्चरबाट सामान ढुवानी गरेर धेरै मानिसहरुले आफ्नो गुजारा चलाएका थिए, तर केवलकारको निर्माणपछि मनकामना मार्गको स्थानिय व्यापारिक चहलपहल सुकेको छ । माथिमाथि केवलकारमा शहरी क्षेत्रका सुकिलामुकिला मान्छेहरु ओहोरदोहोर गरिरहन्छन् तर तल भुँइपाखाका गाउँले मानिसहरु अझैँ आफ्नै दुनियामा देखिन्छन् । माथिमाथि ओहोरदोहोर गर्ने केवलकारले तलका भुईमान्छेहरुलाई केही फरक चिज र उपलब्धी दिन सकेको छैन । बाहिरबाट आएका मानिसहरुले गरिदिने आधुनिक भौतिक विकास र स्थानिय मानिसहरुका बीचको दुरी मनकामनाको केवलकार मार्गको एघार किलोमिटरमा टड्कारो रुपमा महसुस हुन्छ । नेपालमा कुनै पनि विकासको प्रतिफल किन तलका भुइ मान्छेहरुको नजिक किन पुग्दैन होला ? मनकामनाबाट ओरालो लाग्दा मेरो मनमा यस्ता प्रश्नहरु खेलिरहे ।
    मनकामनाको चिसो टुप्पोबाट दश मिनेटमैँ त्रिशुली नदीको खोँचमा रहेको स्टेशनमा ओर्लिदा गर्मीले आगोको भुङ्रोमा पसेजस्तो लाग्यो । अलिअलि कान बन्द भएजस्तो र रिङ्गटा लागेजस्तो पनि हुँदो रहेछ । मलाई काठमाडौँ जानु थियो तर त्यहाबाट बसमा सिट पाउनु अर्को समस्या बन्यो । बल्लबल्ल पूर्व लालबन्दीबाट आएको बसमा कोच्चिएर म पश्चिम कोहलपुरबाट गएको मान्छे काठमाडौँतर्फ लागेँ । बसमा चादनी शाहको यौटा गीत बजिरहेको थियोउकाली ओरालीहरुमा, भन्ज्याङ् अनि चौतारीहरुमा, जहा जहा जान्छौ तिमी, म छाया बनि पछ्याइरहन्छु । मैले बुनुलाई सम्झिएँ ।
    ०००





अन्य समाचारहरु