सम्पादकीय

  • जुन जोगी आए पनि कानै चिरेको
    -पूर्ण लाल चुके
    २०६८ माघ ८ गते आइतवार नेपाल सम्वत् ११३२ पोहेलागाः१३ JANAMAT(Bi-Weekly) Janaury 22, 2012

    जुन जोगी आए पनि कानै चिरेको
    राजनीतिक रुपमा संक्रमणकालीन अवस्थाबाट गुज्रीएको अराजकता र अनियमितता व्याप्त भएको वर्तमान अवस्थामा सरकार मातहतका निगमहरुबाट पनि सर्वसाधारण नेपाली नागरिक आतंकित हुन थालेका छन् । नेपाली जनताले आशा र भरोसा लिएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको वर्तमान सरकारबाट पनि सर्वसाधारण नागरिकलाई निराश गराउने थुपै्र कामहरु भएका छन् ।

    विगतका सरकारहरु झैं डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको वर्तमान सरकारले पनि आफ्नो मातहतमा रहेको नेपाल आयल निगम मार्फत् यही माघ ४ गते मासिक रूपमा बढिरहेको घाटा कम गर्न भनी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेकोछ । यसरी मूल्य वृद्धि गरेर भट्टराईले सबै सरकारले शायद गर्नै पर्ने अपरिहार्य मूल्य वृद्धि गरेर सर्वसाधारण नेपाली नागरिकको ढाड सेक्ने काम गरेर बिगतका सरकारको बिंडो थाम्ने काम गर्न पछि परेन । यसले जुन जोगी आए पनि कानै चिरेको भन्ने नेपाली उखानलाई भट्टराई सरकारले चरितार्थ गरेकोछ ।


    लामो समयदेखि चर्को अभाव खेपिरहेका गरीब नेपाली जनतालाई दैनिक आवश्यकीय वस्तु पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेर थप आर्थिक बोझ थप्ने काम गरेको घटनाले शुरुमा नेपाली जनतालाई तत्काल राहत प्याकेजको सस्तो लोकप्रियता हासिल गर्ने खालका कार्यक्रम ल्याएर सबैबाट वाहवाही बटुल्न खोजेको भट्टराई सरकारको असली रुप उदाङ्गिएकोछ । अहिले नेपाली जनता सरकार प्रति आक्रोशित देखिएका छन् । राजनीतिक दलका भातृ संगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् । तर, बिना कुनै वैज्ञानिक र ठोस आधार मूल्य वृद्धि गरेर नेपाली जनतालाई मर्माहत तुल्याउन साँच्चिकै अग्रसर र भ्रष्टाचारको दल दलमा डुबेको आफ्नो मातहतको नेपाल आयल निगम लिमिटेडको बदनियतपूर्ण क्रियाकलापलाई ढाकछोप गर्न सरकार उद्दत देखिएको छ । यस किसिमको जनताको ढाड सेक्ने कार्यको जति निन्दा गरे पनि कम हुन्छ ।





अन्य समाचारहरु