सम्पादकीय

  • प्राधिकरणको दुःख दिने नियत
    -पूर्ण लाल चुके
    २०६८ माघ ४ गते बुधवार नेपाल सम्वत् ११३२ पोहेलागाः९ JANAMAT(Bi-Weekly) Janaury 18, 2012

    प्राधिकरणको दुःख दिने नियत
    राजनीतिक रुपमा संक्रमणकालीन अवस्थाबाट गुज्रीएको मुलुकमा अहिले अराजकता र अनियमितता यतिसम्म झाङ्गिएको छ कि अब त सरकार र सरकार मातहतका निकायमा पनि व्याप्त हुन थालेको महसुस नेपाली जनताले गर्न थालेका छन् । यस्तो कहालीलाग्दो संक्रमणकालीन अवस्थाबाट देश र जनताले कहिले मुक्ति पाउने हो कसैलाई थाहा छैन ।


    यसै क्रममा विश्वकै जलस्रोतको धनी राष्ट्रको रुपमा परिचित नेपालको राधानी काठमाण्डौका सर्वसाधारण दैनिक १४१५ घण्टा लोड सेडिङको मारमा छन् भने मुलुकको अन्य भाग पनि यसबाट अछुत रहन सकेको छैन । आन्तरिक विद्युत उत्पादन पर्याप्त नभएको कारण लोड सेडिङको मार खेपिरहेको सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले भारतीय विद्युतमा निर्भर हुँदै आएको पश्चिम नेपालको प्रमुख लोड सेडिङ मुक्त नगर नेपालगन्जमा पनि अन्य जिल्लामा जस्तै लोड सेडिङ गर्ने निर्णय गरेर स्थानीय उपभोक्तालाई अनाहकमा दुःख दिने नियत देखाएको स्थानीय नागरिकको दवाव र अदालतको परमादेश जारी गरेपछि लोड सेडिङ स्थगित गरेर विद्युत आपूर्ति सुचारु गरेपछि स्पष्ट भएको छ ।


    मंगलवार नागरिक समाजको दवाव र अदालतको आदेश पछि सोमवारदेखि गरिएको विद्युत लोडसेडिङ मंगलवारकै मितिदेखि अन्त्य गरी सुचारु गरिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले दैनिक ७ घण्टा लोडसेडिङ शुरु गरेकै दिन पुनरावेदन अदालत नेपालगन्जले सोमवार लोडसेडिङ तत्काल रोक्न परमादेश जारी गरेको थियो भने नेपाल पत्रकार महासंघको अगुवाईमा सञ्चारकर्मी र अन्य संघसंस्थाहरुले अदालतको आदेश तत्काल कार्यान्वयन गर्न दवाव दिएको थियो ।


    अधिवक्ता लोकबहादुर शाहले दायर गर्नु भएको रिटको सुनुवाई गर्दै पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश केशव प्रसाद मैनालीको एकल ईजलाशले तत्काल विद्युत लोडसेडिङ नगर्नु भनि नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र, प्राधिकरण क्षेत्रीय कार्यालय र सम्बन्धित मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको थियो । बिना कुनै कारण र आधार यसरी सर्वसाधारण नागरिक र उपभोक्तालाई अनाहकमा दुःख दिनु निन्दनीय कार्य हो । यस्तो कार्य भविष्यमा नदोहोरिनको लागि नागरिक समाज सदा सचेत हुनु आवश्यक छ ।





अन्य समाचारहरु