कुराकानी
-
बाँकेमा हात्तीपाइलेको उच्च जोखिम कम गर्नु सबैको दायित्व
-झलक गैरे
२०६८ माघ २५ गते बुधवार February 8, 2012
बाँकेमा हात्तीपाइलेको उच्च जोखिम कम गर्नु सबैको दायित्व
(बाँकेमा शनिवारदेखि दोस्रो चरणको हात्ती पाइलेविरुद्धको औषधी अभियानको निर्धारित समय माघ २१, २२ र २३ गते सकिएकोछ । विभिन्न शंका, उपशंका वीच सम्पन्न अभियानमा कतिपयले औषधी खाए कतिले खाएनन् । तर, परिणाम निराशाजनक भने देखिएको छैन । छुटेकाहरुका लागि पनि खुवाउनका लागि माघ मसान्तसम्म स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्यकर्मीहरु जुटीरहेका छन् । बाँकेमा अभियानको नेतृत्व लिनु भएका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्ल त्यस्तो शंका गरिरहनु पर्ने कुनै कारण नै नभएको बताउनु हुन्छ । गत वर्षको शंका मेटाउन यस वर्ष लामो समयदेखि जनस्वास्थ्य कार्यालय र जनस्वास्थ्यकर्मीहरु लागि परे, घरदैलोमै पुगेर औषधी खान सर्वसाधारणलाई आग्रह गरिरहे । अपेीषत परिणाम भने हात पर्न नसके जस्तो लाग्छ । यसैको सेरोफेरोमा रहेर जिल्ला जनस्वास्थ्य प्रमुख मल्लसंग दैनिक नेपालगन्जका सम्पादक झलक गैरेले दैनिक नेपालगन्जका लागि गरेको र प्रकाशित कुराकानी जनस्वास्थ्यसंग सरोकार राख्ने समसामयिक र सान्दर्भिक विषय भएकोले सम्पादन गरी प्रकाशन गरिएकोछ । –जनमत सम्पादक)
-कसरी चल्दैछ हात्तीपाइले विरुद्धको अभियान ?
बाँकेलाई हात्तीपाइले विरुद्धको अभियानमा विभाग समेतले उच्च प्राथमिकतामा राखेर हेरेकाले सबै खालका समस्या न्यूनिकरण गर्दै व्यापक ढंगले जनपरिचालन गरिएको छ । प्रारम्भमा सबै स्वास्थ्य केन्द्रका इन्चार्जहरु, ग्रामीण स्वास्थ्य कार्यकता, स्वयंसेविकाहरु लगायत २२ सय २५ जनालाई यसबारेमा विस्तृत जानकारी दिइयो । त्यससंगै सञ्चारकर्मी अन्य स्वास्थ्यकर्मी, दलका नेता, धार्मिक अगुवा, शिक्षक लगायत सबैलाई अभियानबारे प्रशिक्षित गरेर रोगबारे जानकारी दिने काम भएको छ ।-यति ठूलो तयारी किन गर्नु परेको हो ?
वास्तवमा व्यापक जनसहभागिता बिना यो अभियानको सफलता सम्भव छैन । त्यसमा पनि गत वर्षको असमझदारी सिर्जना भएको कारण समग्र खोप अभियान नै प्रभाव पारेकाले वृहत् र व्यापक रुपमा यो जानकारी जरुरी थियो । अभियानमा जनसहभागिता वृद्धिका लागि आवश्यक सबै प्रयास र पहल गरिएको छ । यसरी सबै क्षेत्रलाई परिचालन गरेर यो अभियानलाई साँच्चिकै सबैको समान दायित्वका रुपमा बुझाउन पनि यसो गर्नु परेको हो । आफैमा यो अभियान विश्वव्यापी भएकाले जनसहभागिता जरुरी छ ।-समस्या के छन् ?
त्यति धेरै समस्या छ जस्तो लाग्दैन, तर पनि गत वर्षका कारण अहिले पनि अभियानप्रति केही मात्रामा अविश्वास छ, त्यसकारणले पनि त्यो अविश्वासलाई चिरेर शंका निवारण गर्दै जानु जरुरी छ । यसैले तालिम, अन्तरक्रियाहरुमा सबै जस्तो अगुवाहरुलाई ल्याएर त्यसबारे स्पष्ट पारिएकाले समस्या कम हु“दै गएका छन् । अझै पनि आम जनसाधारणलाई सम्झाउने काम भइरहेको छ । समस्यै छैनन् भन्ने होइन, त्यसका बाबजुद अभियान सफल पार्ने चुनौतीमा सबै लागिपरेकाछौं ।
-अघिल्लो वर्ष किन जटिलता आएको रहेछ ?
बाँकेमा हात्ती पाइलेको संक्रमण दर उच्च छ र हरेक ५ जनामा एक जनामा हात्तीपाइलेको जिवाणु छ । त्यसले गर्दा औषधी खा“दा जिवाणु भएको व्यक्तिलाई प्रतिक्रिया दिन सक्छ । त्यसका लागि औषधी खाने तौर तरिका जान्न जरुरी छ । गत वर्ष त्यही तरिका नजान्दा कतिपयलाई औषधीको प्रतिक्रिया देखियो । तर, त्यसको निदानका लागि आवश्यक परामर्श दिन सकिएनछ । असर बारे बुझाउन कमी भएको पाइयो । चर्चामा आएजस्तो औषधीका कारण कसैको मृत्यु भएको थिएन । यो वर्ष त्यस्ता खालका समस्या आउन नदिन बेलैमा तयारी गरिसकेका छौं ।
-अभियान सफल हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
हामी विश्वस्त छौं, प्रयास पनि सफल ढंगले अगाडी बढी रहेको छ ? सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आइरहेकाले हामीहरु पनि उत्साहित छौं । गत वर्षका ४ लाख ४२ हजार ४ सय ९२ व्यक्तिलाई नै यो वर्ष पनि मुख्य लक्ष्य बनाइएकोले पहिले जस्तो औषधीको प्रतिक्रिया पनि त्यति आउँदैन । रोग लागिसकेपछि उपचार सम्भव नभएकाले रोग लाग्नै नदिन यसरी अभियान चलाउनु परेको कुरा आम जनतामाझ पुग्न सक्यो भने लक्ष्य पूरा गर्न खासै गाह्रो छैन । पहिलो दिनको सहभागिताले पनि खासै निराशा देखाएको छैन । तर, तीन दिनको अभियानले यसको पूरा परिणाम भन्न सकिन्छ । समग्रमा अभियान सफल हुनेमा आशा गर्न सकिन्छ ।
-अभियानको मूल्याकन कस्तो छ ?
तुलनात्मक रुपमा अहिले पनि जनतासंग शंका निवारण गर्ने काम भई नै रहेको छ । बुथमा अपेक्षित जनसहभागिता नभए पनि घरदैलोमा पुगेका स्वास्थ्यकर्मीहरुले औषधी खुवाउने काम गरिनै रहनु भएकोछ र निराशाजनक भने छैन । यो वर्षको पहलकदमीका कारण आउने वर्ष अभियान पूर्ण रुपमा सफल हुने सम्भावना देखिएको छ । यो वर्ष पनि कस्तो स्थिति हुन्छ भन्ने अहिले नै भन्न नसकिए पनि अवस्था निराशाजनक छैन ।
-पत्रिका मार्फत् केही सन्देश ?
यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय अभियान हो । विश्व स्वास्थ्य संगठनले नै यो अभियानको नेतृत्व गरिरहेको छ । बाँकेमा हात्तीपाइले रोगको जुन उच्च जोखिमको अवस्था छ, यस्तो अभियानमा सहभागी नभएसम्म अवस्था कम हुँदैन, यो उत्तम अवसर पनि हो । एक दुई जना मान्छे मात्रै पनि छुटे पनि अभियानमा बाधा पु¥याउँछ । बाँके जिल्लामा अहिलेसम्म औषधीले नकारात्मक प्रभाव पारेको अवस्था पनि छैन । बाँके जिल्लाबासीलाई ढुक्कसंग अभियानमा सहभागी भई औषधी सेवन गरेर आफ्नो जीवन सुरक्षित राख्न विनम्रतापूर्वक अपिल गर्न चाहन्छु । ०००



