नयाँ नेपाल/नयाँ संविधान बहस

  • दलहरुको अडानका कारण संविधान ओझेलमा
    दिनेश ठाकुर
    २०६८ असोज २६ गते विहीवार Oct. 13, 2011

    दलहरुको अडानका कारण संविधान ओझेलमा
    नेपालगन्ज/ संविधानसभाकि उपाध्यक्ष पूर्णा कुमारी सुवेदीले केही दलको अडानका कारण संविधान निर्माण कार्य ओझेलमा परेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेले मंगलवार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष सुवेदीले यस्तो बताउनु भएको हो ।


    सुवेदीले शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दै संविधान निर्माणको काम अगाडी बढाउन नहुने अडान राख्दै आएका दलहरु वीच बढेको अविश्वासका कारण शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिन नसकेको धारणा राख्नुभयो । संविधान निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै उपाध्यक्ष सुवेदीले दलहरु वीच देखिएको विवाद समाधान भए संविधानको प्रारम्भिक मस्यौदा छिट्टै आउने दावी गर्नुभयो । संविधान निर्माणका क्रममा देखिएका विवाद समाधान गर्न दलहरु वीच छलफल हुन आवश्यक भएको औंल्याउँदै सुवेदीले राज्य पुनः
    संरचनाका लागि छुट्टै समिति बन्नुपर्ने बताउनु भयो ।


    पत्रकारहरुको जिज्ञासामा उहाँले एकिकृत नेकपा माओवादी पार्टी भित्र उत्पन्न विवाद लोकतान्त्रिक पद्दतिको नमूना भएको बताउनु भयो । पार्टी भित्र अन्तर संघर्ष हुन आवश्यक भएको भन्दै उहाँले अन्तर संघर्षले नै पार्टीलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । झिना मसिना विवादले पार्टी नफुट्ने जिकीर गर्दै उहाँले यस्ता खालका विवाद पहिले पनि हुने गरेको र अहिलेको विवाद पनि छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।


    संविधान निर्माण कार्य पूरा नहुँदासम्म संविधानसभाको म्याद लम्ब्याउदै जानुपर्ने आशय ब्यक्त गर्दै उहाले संविधानसभाको म्याद नथप्नु भनेको हातबाट चरा उडाएर झाडीमा खोज्नु जस्तै भएको जिकीर गर्नुभयो ।

    दशैं मान्ने क्रममा गृह जिल्ला आउनु भएका संविधानसभा उपाध्यक्ष सुवेदीले यही अवसरमा आफूले सर्वसाधारणको राय, सुझाव समेत लिएको बताउनु भयो । जनताले दिएको समय सीमा भित्र संविधान निर्माण कार्य पूरा हुन नसकेका कारण जनतामा निराशा छाएको भन्दै उहाले संविधान निर्माणको काम करीब करीब सकिएकोले निराश हुने अवस्था नरहेको बताउनु भयो ।





अन्य समाचारहरु