जनजाति/दलित/सीमान्तकृत

  • मुक्त कमैयालाई पुनःस्थापना खै ?
    .
    २०६८ साउन ५ गते विहीवार नेपाल सम्वत् ११३१ दिल्लागा६ JANAMAT(Bi-Weekly) July 21, 2011

    मुक्त कमैयालाई पुनःस्थापना खै ?
    नेपालगन्ज/मुक्त कमैया दिवसको अवसरमा गत सोमवार विभिन्न स्थानमा मुक्त कमैयाहरुले विभिन्न कार्यक्रमको आयोजना गरे । मुक्त कमैया भूमि अधिकार जिल्ला संघर्ष समितिले कोहलपुरमा याली निकालेको थियो । याली पछि सभाको आयोजना गरियो ।


    मुक्त कमैया मूल समिति बाँकेका अध्यक्ष शिव प्रसाद थारुको अध्यक्षता तथा भूमिसुधार अधिकारी ओमप्रकाश खड्काको आतिथ्यता सम्पन्न सो सभामा मुक्त कमैया संघर्ष समितिका अध्यक्ष विश्राम थारु, भूमि अधिकार मञ्चका अध्यक्ष दण्ड प्रसाद शर्मा लगायतले बोल्नु भएको थियो । सभामा गाउँ गाउँबाट आएका मुक्त कमैयाहरुको सहभागिता थियो ।


    तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले २०५७ साउन २ गते दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरका कमैयाहरुलाई मालिकको घरबाट मुक्त भएको घोषणा गरेको थियो । मुक्त कमैयाहरुलाई सरकारले पुनःस्थापना गरेको वर्षौ बिते पनि अहिलेसम्म पूर्ण रुपमा उनीहरुले जमिन पाएका छैनन् । जमिन पाएका मुक्त कमैयाले खोला तथा नदि किनारमा सरकारले आफुहरुलाई बस्न वाध्य बनाएको गुनासो गरिरहेका छन् ।


    मुक्त कमैयाहरुको संगठन मुक्त कमैया समाजका अनुसार पश्चिम तराईका पाँच जिल्लामा परिचय पत्र पाएका मुक्त कमैयाहरु अझै पनि ६ हजारको हाराहारीमा रहेको जनाएको छ । तर सरकारी अधिकारीहरुको संयोजकत्वमा गठन गरिएको मुक्त कमैया पुनःस्थापना समितिले मुक्त कमैयाहरुलाई पुनःस्थापना गर्ने काम लगभग सकिएको जनाएको छ ।


    पुनःस्थापना समितिले बाँके जिल्लालाई २०६५ साल चैत्र २५ गते मुक्त कमैया रहित जिल्ला घोषणा गरेपछि मुक्त कमैयाहरुले सो को सर्वत्र विरोध गर्दै आएका छन् । समाजकि केन्द्रिय सदस्य कृष्णा देवी थारुले मुक्त कमैयाहरुलाई पुनःस्थापना गर्ने विषयमा सरकारले कन्जुस्याइँ गरेको आरोप लगाउनु भएको थियो ।





अन्य समाचारहरु