बालबालिका / हाम्रो भविष्य

  • किन चिट चोर्न डराउन छाडे विद्यार्थीहरु ?
    बसन्त खरेल
    २०६७ चैत १७ गते विहीवार JANAMAT(Bi-Weekly) March 31, 2011

    सन्दर्भ : प्रवेशिका परीक्षा
    किन चिट चोर्न डराउन छाडे विद्यार्थीहरु ?
    हामीले एसएलसी जाच दिंदाको कुरा हो, त्यतिबेला चिट भन्ने नाम सुनिए पनि त्यो कसरी गरिन्छ, गरेमा के हुन्छ, नगरे के हुन्छ केही थाहा थिएन । चिट चोरेर पास भइन्छ भन्ने मान्यता नै थिएन । जसरी कसैको बस्तु चोरेमा त्यो सामाजिक अपराध हो भन्ने मान्यता राखिन्थ्यो चिट चोर्ने कामलाई पनि हामीले त्यही मान्यतामा राख्थ्यौं । फेल भए अर्कोचोटी दिए पनि हुन्छ तर, चिट चोर्नु गलत हो भन्ने थाहा थियो ।

    एकजना शिक्षक जसले नर्मल शिक्षा प्राप्त गरी शिक्षक हुने मौका पाएका थिए उनलाई एसएलसीको जाच दिनुपर्ने भएछ । अन्यथा शिक्षक बनिरहन नमिल्ने अवस्था सिर्जना भयो । त्यसपछि उनले फारम भरेर एसएलसी दिन थालेछन् । पुरानो शिक्षा, टुप्पी बानेर पढेकाहरु त फेल हुन्थे । उनी किताबै नपल्टाएका मानिसले के आउने र जाच दिने ? चिट नै उनको लागि सहारा थियो । उनले चिटको भारी नै लगेका रहेछन् । खानतलासी गर्दा उनको पोल खुलीहाल्यो । तर, लगेकामात्र नभई बाहिर पनि उनले चिट चोराउनेको सञ्जाल बनाएका रहेछन् । जसै उनी जाच दिन परीक्षा हलमा पसे त्यसपछि कसरीकसरी उनले प्रश्नपत्र बाहिर छिराइहालेछन् ।

    एकैछिनमा उनको पासमा बाहिरबाट चिट जान थाल्यो । आखा छल्दै चिट सार्दै गर्दा उनले पाना पल्टाउ भनेर लेखिएको पनि सारेछन् । जुन शब्द चिट लेख्नेले लेखिदिएको थियो । त्यसरी उनले जाच त दिए । तर, उनको रिजल्टले आलू खायो । जहा त्यही पाना पल्टाऊ भनेर लेख्न थालेपछि कापी जाच्नेले सहजै थाहा पाउने भयो कि यो चिटर हो । त्यसैले चिट चोर्न सरासर लेख्ने विद्यार्थीकोभन्दा बढी ढंग चाहिने रहेछ । नत्र आलू खान बेर लाग्दैन ।

    आजभोलिका परीक्षामा चिट नचोर्ने विद्यार्थी भन्दा धेरै चिट चोर्ने विद्यार्थीको संख्या छ । जुन केन्द्रमा पनि चिट चोर्ने नै देख्न पाइन्छ । बोर्डिङ स्कूलहरुका विद्यार्थीे पनि चिट चोरेर रेष्टिगेट भएको देख्न पाइन्छ । अझ, अहिले त चिट चोर्ने भन्दा पनि चिट चोराउनेको संख्या धेरै छ । त्यसमा पनि शिक्षकहरु नै लागेका हुन्छन् । जाच लिनको लागि निरीक्षक बसेका शिक्षकहरुले चिट चोराउछन् । गार्डहरुले प्रश्न पत्र बाहिर लगिदिने र चिट भित्र पुराइदिने काम गरेका हुन्छन् । यो पटक बाजुरा जिल्लामा चिट चोराउन दिएन भनेर चोराउन गएकाले प्रहरी चौकी नै तोडफोड गरिदिएछन् । घम्साधम्सी भएछ । १५ जना मानिस घाइते भएछन् । केही केन्द्रमा निरीक्षकलाई निस्काशन गरिएछ । उनीहरुले चिट चोर्न मद्दत गरेको फेला परेकोकारण त्यसो गरिएको हो । यसरी एसएलसीलाई यस्तो बदनाम गरिएको छ कि सुन्दा नै लाज लाग्ने अवस्था आएको छ ।

    चिट चोर्ने काम निश्चितै गलत हो । तर, मानिसहरुले त्यही गलत संस्कारलाई अगालीरहेका छन् । आफूले चिट चोरेर पास गरेपछि अरुलाई पनि त्यही संस्कृति सिकाइदिने काम हुन्छ । यहा चाहे शिक्षक होस् चाहे कर्मचारी होस् अधिकांश चिट चोरेर पास भएका छन् । आफू त्यसरी पास भएपछि त्यस्तै गर्न उनीहरुले दीक्षा दिन्छन् । यसरी यो एकप्रकारको परम्परा नै बन्न पुगेको छ । केही वर्ष अघिको कुरा हो, एकजना विद्यार्थी पाचपटकसम्म फेल भएछ । पढे पो पास हुनु । बाबुआमा र इष्टमित्रको डरले फारम भर्छ । तर, पढ्ने काम फिट्टू गर्दैन । छैठौं पटक त उसको बाबुलाई नै चिट चोराउन मन लागेछ । जाचको बेलामा एकजना शिक्षकलाई प्रलोभन दिएर चिट चोराउने योजना बनाएछ । शिक्षकले चिट चोराउन मद्दत गरेपछि त्यो वर्ष पास भएछ । कक्षा त चढ्यो, तर, आउने केही होइन । पढ्नका लागि पढेपछि सर्टीफिकेटको के काम ? अहिले छोरालाई विदेश पठाएको रहेछ । विदेश जानको लागि त्यो सर्टिफिकेट नै किन चाहिन्थ्यो र ?

    पोहरसाल डिष्टिङशन गरेको विद्यार्थीलाई मैले एउटा निबेदन लेखिदिन आग्रह गरें । कागज कलम समाएर बस्यो । मैले निवेदनमा समेट्नुपर्ने सम्पूर्ण कुराहरु सुनाइदिएं । उसले लेखेजस्तो गर्यो । केही ठाउंमा केर मेट पनि गर्यो । पछि अर्को कागजमा साफी गर्यो । फाइनल भएपछि मैले मागें र दस्तखत गर्नुअघि पढ्न थालें । उसले लेखेको त एउटा निवन्ध पो बनेको रहेछ । यो त निवेदन भएन बाबु, निवन्ध बन्यो । यस्तो निवन्ध लगेर जाने हो भने हाकिमले तोक आदेश हैन, पास या फेल नम्बर दिन्छ भनेपछि रातो मुख बनाएर किनारा लाग्न खोज्यो । मैले उसलाई बोलाएर उसकै अगाडि खर्खरी लेखेर देखाएं । जिल्ल पर्यो । उसको लेखाइमा ह्रश्व दीर्घ पनि मिलिरहेको थिएन । कसरी मानिसले डिस्टिङशन ल्यायो होला अचम्म लाग्यो । शायद उसको कापी जाच्ने जाचकी पनि चिटचोर कम्पनीबाट सिंढि चढेर आएको हुनुपर्छ ।

    स्कूलको नाम त नतोकौं, मलाई हरेक जसो बैठकमा चिठी आउछ एउटा विद्यालयबाट । त्यो चिठीमा मैले अक्षरहरु हेर्ने गर्छु । शुद्धभन्दा अशुद्ध अक्षरहरु धेरै हुन्छन् । आइए पास गरेका शिक्षकले लेखेका अक्षर हुन् तिनी । के लाग्छ र चिट चोरेर पास गरेका मानिसको ल्याकत नै त्यस्तै हुन्छ । पढेर, ज्ञान आर्जन गरेर पढाइमा मेहनत गरेर कक्षा चढेका हुन्थे भने त्यो विजोग निश्चय नै हुने थिएन । त्यति अशुद्ध लेख्ने शिक्षकले पढाउने विद्यार्थी कति शुद्ध होलान् ? अनि फेल हुने डर हुन्छ । त्यसपछि चिट चोर्ने विद्या सिक्नु पर्ने हुन्छ । त्यही नै पास हुने एउटा कारगर उपाय हुन्छ ।

    अहिले वास्तवमा चिट चोर्नु सामान्य जस्तो भइसकेको छ । चिट चोर्नबाट विद्यार्थीहरु डराउन किन छाडे ? किन यसो गर्नेको संख्या बढ्दैछ ? यसको पछाडी पनि कारणहरु छन् । जसरी सरकार भ्रष्ट भएपछि कर्मचारी भ्रष्ट हुन्छन् र जनता अराजक हुन्छन्, त्यसरी नै परीक्षा केन्द्रमा बसेकाहरुले चिट चोराउने काम गर्न थालेपछि चोर्नेको संख्या पनि बढ्दो छ । उनीहरुले कडाइसाथ निरीक्षण गरिदिने गरेको भए यो संस्कार मौलाउने नै थिएन ।

    वास्तवमा माथिबाट बिग्रन्छ । सरकार भ्रष्ट छ, त्यसैले केन्द्राध्यक्ष भ्रष्ट भए । केन्द्राध्यक्ष भ्रष्ट भएपछि निरीक्षक भ्रष्ट भए । गार्डहरु भ्रष्ट भए । उनीहरुको आनीबानी भ्रष्ट भएको देखेपछि विद्यार्थीहरुले पो किन चिट नचोर्ने ? यसरी एकप्रकारले परम्परा नै विकास भयो । यसलाई हटाउन त तलबाट हैन, माथिबाटै अप्रेशन गर्नु जरुरी हुन्छ । ०००





अन्य समाचारहरु