देश

  • इन्सेकद्वारा मूल्यवृद्धिको कारण माग
    .-इन्सेक
    २०६८ माघ ८ गते आइतवार Janaury 22, 2012

    इन्सेकद्वारा मूल्यवृद्धिको कारण माग
    नेपालगन्ज/ मानव अधिकारवादी संस्था इन्सेकले नेपाल आयल निगमले माघ ४ गते मासिक रूपमा बढिरहेको घाटा कम गर्न भनी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको कारण माग गरेको छ ।


    मूल्यवृद्धिले आमनेपाली जनतामा राज्यविहीनताको अनुभूति गराएको भन्दै इन्सेकले लामो समयदेखि चर्को अभाव खेपिरहेका नेपाली जनता मूल्यवृद्धिपछि पनि यसको सहज उपलब्धतामा विश्वस्त हुन सकिरहने अवस्था त्यतिञ्जेलसम्म हुन सक्दैन जबसम्म निगमका हरेक आर्थिक क्रियाकलापका बारेमा आमजनतालाई सुसूचित गरिंदैन भनेकोछ ।


    अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रियस्तरमा लगातार भएको मूल्यवृद्धिको समायोजन आयल निगमले कसरी गरिरहेको छ र त्यसको असर उपभोक्ता मूल्यमा कुन हदसम्म परिरहेको छ ? त्यसको स्पष्ट जानकारी आयल निगमले गर्ने नगरेको उल्लेख गर्दै इन्धनको भाउवृद्धि भएको समाचार प्रकाशन भएलगत्तै बिक्रेताहरूले नयाँ मूल्यमा ग्याँस लगायतका इन्धन बिक्री-वितरण गर्न थालेबाट निगममा हुने गरेको संस्थागत भ्रष्टाचारलाई सतहमा ल्याइदिएको जनाएकोछ ।

    स्थानीय बिक्रेताका भण्डारमा कुन परिमाणमा इन्धन सुरक्षित थियो ? कति वितरण भयो ? कुन मूल्यमा बिक्री भयो ? पुरानो दरमा उपलब्ध गराएको इन्धन नयाँ मूल्यमा के कारण कसले किन बिक्री गयो ? भन्ने विषयमा सरकारलाई कुनै चिन्ता छैन । मानौँ यी विषय सरकारको सरोकारको विषय नै होइन विज्ञप्तिमा भनिएकोछ ।

    विज्ञप्तिमा भनिएकोछ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सरकार जमानीमा बसेर लिएको ऋण र त्यसको ब्याज वापत अरबौंको घाटामा रहेको भनिएको निगमको आम्दानी र खर्चको यथार्थ विवरण सार्वजनिक नगर्ने, बोनसका नाममा करोडौंको रुपैयाँ वितरण गर्ने, तर आम्दानी र खर्च सार्वजनिक नगर्ने निगमका तालुकवालाहरूको कार्य निन्दनीय त छ नै त्यसलाई संरक्षण दिएर मलजल गर्ने सरकारको भने गैर जिम्मेवारीपनको पराकाष्ठा नाघ्दै गएकोछ ।

    नेपाली जनताको सूचनाको हकलाई मौलिक अधिकारको रूपमा नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्याभूत गरेको छ, संविधानको मौलिक हकमा भनिएको छ प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्न पाउने हक हुनेछ ।

    मूल्यवृद्धिका नाममा पटकपटक नेपाली जनतालाई हैरानी दिने आयल निगमको आम्दानी र खर्चको विवरण जान्न पाउनु नेपाली जनताको हक हो । आयल निगमले उक्त हकको स्मरण गर्दै स्वयम् आफ्ना आम्दानी र खर्च सार्वजनिक गरेर जनतासामु मूल्यवृद्धिको कारण पारदर्शी रूपमा प्रस्तुत गरी नेपाली जनताको सूचनाको हकको सम्मान गर्न नेपाल आयल निगम र नेपाल सरकारसंग माग गर्दछौँ विज्ञप्तिको अन्त्यमा भनिएकोछ ।





अन्य समाचारहरु