आधा आकाश

  • मुस्लिम महिला र बालबालिकाको लागि विशेष योजनामा जोड
    .
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    मुस्लिम महिला र बालबालिकाको लागि विशेष योजनामा जोड
    नेपालगन्ज/ मुस्लिम महिला र बालबालिकाको सशक्तिकरणका लागि आम समुदाय एकजुट हुनपर्नेमा जोड दिइएको छ । उनीहरुको स्वास्थ्य, शिक्षा, कृषि र रोजगारका लागि सरकारले विशेष योजना संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।


    ग्रामीण समाज उत्थान मञ्च बाकेद्वारा आयोजित मुस्लिम महिला तथा बालबालिकाहरुको सशक्तिकरण विषयक तीन दिने क्षेत्रीय कार्यशाला गोष्ठीका सहभागीहरुले मुस्लिम समुदायको समग्र विकासका लागि शैक्षिक क्षेत्रमा जोड दिनु पर्ने बताएका थिए ।


    राष्ट्रिय महिला आयोगकी केन्द्रिय अध्यक्ष शेष चाँद ताराले मुस्लिम समुदायमा अहिले पनि दाईजो प्रथा कायमै रहेकाले यस्लाई निरुत्साही गर्नुपर्नेमा जोड दिनुभयो । कैयौ घरेलु हिंसाहरु दाईजोकै कारक रहेको औंल्याउँदै उहाँले दाईजो लिने दिने दुबैलाई रोक्नुको विकल्प नभएको बताउनु भयो ।


    तराईमा भएका अधिकाँश महिला हिंसाका घटनामा दाईजो जोडिएकाले यस्को विरुद्ध अभियान चलाइनु पर्ने अध्यक्ष ताराको भनाई थियो । सबै महिलाहरुको हकहितका लागि बनेको महिला आयोगलाई संवैधानिक बनाउनु पर्नेमा जोड दिदै उहाँले यस्को शाखा विस्तारका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

    हामीले महिला आयोगलाई सशक्त बनाउन पहल गरिरहेका छौं, उहाँले भन्नुभयो सरकारले हात खुट्टा बाधेर दिएको अधिकारले महिला मुद्दालाई गहिरीएर उठान गर्नमा रोक लगाएको छ, त्यसैले आयोगलाई संवैधानिक बनाउनु पर्छ ।

    कार्यक्रममा बोल्दै महिला विकास तथा बालबालीका कार्यालय बाूकेकी प्रमुख शोभा शाहले मुस्लिम महिला तथा बालबालिका हरुको सवाललाई थप प्रभावकारी बनाउन एक हुनु पर्नेमा जोड दिनुभयो । विगतको भन्दा मुस्लिम समुदायको समग्र क्षेत्रमा सकारात्मक परिर्वतन आए पनि त्यो प्रयाप्त नभएको वताउनु भयो ।

    एकीकृत नेकपा माओवादीका रक्षाराम कुर्मीले मुस्लिम समुदायमा महिला र बालबालिकाहरुको अवस्थामा जटिल रहेको भन्दै पहिले उनीहरुको गास, बास र कपासको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपाली काँग्रेसका भोला सिद्दिकीले संवैधानिक पहिचानका लागि मुस्लिम आयोगको विकल्प नभएको वताउनु भयो । तराई, पहाड, हिमाल जहाँ बसोबास गरेपनि सबै नेपाली भएको चर्चा गर्दै सिद्दिकीले मुस्लिम समुदायलाई मधेशीमा सूचिकृत गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।


    नेकपा एमालेका निरक गुरुङले पछिल्लो समयमा मुस्लिम समुदायमा परिर्वतन आएपनि अपेक्षाकृत सुधार भने आउन नसकेको जिकीर गर्नुभयो ।

    कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कृण्ण चन्द्र धिमीरेले महिला हिंसाका रुप परिर्बतन भएपनि हिंसाका घटनामा कमि नआएको बताउनु भयो ।

    मञ्चका अध्यक्ष मुस्ताक राईको सभापतित्वमा भएको कार्यक्रममा फोरम गणतान्त्रिकका जिल्ला उपाध्यक्ष राजेन्द्र गुप्ता, फात्तिमा फाउण्डेसनकी का.वा. अध्यक्ष मोमिना खातुन, नेपाल पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाई, शान्ति समितिकी संयोजक मोविना खातुन, प्रेस चौतारीका अध्यक्ष रुद्र सुवेदी लगायतले बोल्नु भएको थियो ।

    गोष्ठीमा बाँके, बर्दिया, सुर्खेत, र दैलेख जिल्लाका गरि करीब ३ दर्जन मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो ।





अन्य समाचारहरु