स्थानीय सेरोफेरो

  • बिर्सन थालियो शहिदलाई
    .
    २०६८ माघ १८ गते बुधवार February 1, 2012

    बिर्सन थालियो शहिदलाई
    नेपालगन्ज/शहिद दिवसलाई सरकारी पक्ष र राजनीतिक दलहरुबाट अब औपचारिकतामा मात्र सीमित गर्न थालिएको छ । यस वर्ष पनि बाके लगायत अन्यत्र पनि यस्तै नाम मात्रको औपचारिकता प्रदर्शन गरियो ।


    जनआन्दोलन२ मा शाहदत प्राप्त गरेकी बाकेका पहिलो शहिद सेतु विकलाई पनि कसैले सम्झेनन् । शहिदको बलिदानबाट जनआन्दोलन सफल भएको र नेपालमा गणतन्त्रको स्थापना भएको ठुला ठुला भाषण गर्ने गणतन्त्रवादी राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि सेतु विक चोक नामाकारण गरी स्थानीय न्यूरोडमा स्थापित टाउको बिनाको शालिकमा यस पटक शहिद दिवसमा माल्यार्पणसम्म गर्न आवश्यक ठानेनन् ।


    न्यूरोडमा निर्माण भएको ६ महिना पछि दुई वर्ष अघि शालिकमा टायर बालेर आगजनी तथा तोडफोड गरिएको शहिद विकको शालिक बाँकेमा महिलाहरुको सकृयतामा विकको शालिक निर्माण भएको थियो ।


    सवारी दुर्घटना, आपसी लडाई मात्रै होइन मदिरा सेवनका क्रममा कुटाकुट भएर मारिएका व्यक्तिलाई समेत शहिद घोषणा गर्ने प्रचलन बढेको नेपालमा देशको राजनीतिक परिवर्तनका लागि हासीहासी मृत्युवरण गरेका शहिदहरुलाई भने बिर्सन थालिएको महसुस गरिएकोछ ।


    जहाँनिया राणा शासनका विरुद्धमा लागेकै कारण १९९७ सालमा तत्कालीन शासकव्दारा मृत्यु दण्ड दिइएका चार शहीद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरज चन्द र धर्मभक्त माथेमाको सम्झनामा मनाइने शहिद दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रमको उपस्थिति हेर्दा हाँस्यास्पद भन्न करै लाग्छ ।


    उता जिल्ला विकास समितिको आयोजनामा सोमवार समितिको सभाकक्षमा भएको कार्यक्रममा मात्रै आठ जनाको मात्र उपस्थिति रहेको थियो । यसरी उपस्थित हुनेहरुमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, स्थानीय विकास अधिकारी विश्वराज डोटेल, सहकारी डिभिजन कार्यालयका प्रमुख लोकबहादुर सुनार, कृषि कार्यालयका प्रमुख युगलकिशोर तिवारी, पशु सेवा कार्यालयका प्रमुख जनकराम भण्डारी, यातायात कार्यालयका प्रमुख गोपाल शर्मा, माओवादीका विन्दु सापकोटा र सद्भावना आनन्दीदेवीका चुन्नीलाल कुर्मी थिए । जिविसमा आयोजित सरकारी कार्यक्रमको उपस्थिति हेर्दा एकजना शहिदको भागमा दुई जना व्यक्ति परेका थिए ।


    दिवसको अवसरमा विगतमा जस्तो यसपाली कुनै याली समेत निकालिएन । विहान नौ बजेलाई समय मिलाइएकोमा एक घण्टा ढिला गरेर सहभागीको प्रतिक्षा गर्दा समेत कोही नआएपछि कार्यक्रम सञ्चालन गरिएको थियो । जिविसका आधा दर्जन सरकारी अधिकारी र दुई जना राजनीतिक दलका कार्यकर्ताले दिवसको शोभा बढाएका थिए । जबकी शहिदहरुकै वलिदानकै कारण मुलुकमा आमूल राजनीतिक परिवर्तन हुँदै आएको छ ।


    जनताका छोराले पढ्न लेख्न नपाउने मात्रै होइन बोल्न समेत प्रतिबन्ध रहेको समयमा राणा शासन अन्त्य गराउन प्रमुख भूमिका खेलेका शहिदको सम्झना गर्न पनि सरकार र राजनीतिक दलहरु हिच्किचाउछन् भन्ने प्रमाणित भएको छ ।


    केन्द्रबाट विगत वर्षमा जसरी दिवस मनाउने भनेर परिपत्र नआएको भएपनि जिविसले यसपाली पनि दिवस त मनाउनै पयो भनेर ३० जना बढी सरकारी कार्यालयका प्रमुख र दुई दर्जन राजनीतिक दललाई निमन्त्रणा गरेको थियो । शहीद दिवसको अवसरमा सार्वजनिक विदा दिइने परम्परा छ ।





अन्य समाचारहरु