स्वतन्त्र कलम

  • तिमी चिन्ता नगर, म तिम्रो साथमा छु
    भीम बहादुर शाही
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    तिमी चिन्ता नगर, म तिम्रो साथमा छु
    यो भनाई सबै मानव देहभित्र रहेको आत्मा स्वरुप भगवानको हो । मानिसका ईच्छा आकांक्षा प्रत्येक क्षणपलमा घुमिरहेका हुन्छन् । सबै देहधारीका ईच्छाहरु एकै प्रकारका हुँदैनन् । कसैका राम्रा आकांक्षाहरु हुन्छन् भने कसैका नराम्रा अर्थात् समाजले असल मानेका आकांक्षाहरु हुन्छन् । आखिर राम्रा नराम्रा सबै खाले ईच्छाहरु पूरा गराउने जिम्मा आत्मारुपि भगवानकै हो । आत्माले चाहेको कुरा भेटाउदा मान्छे आफुलाई अतिभाग्यशाली ठानेर खुशी भएर रमाउँछ भने त्यही आत्माले चाहेको कुरा नभेटाउँदा आफुलाई म त सारै अभागी रहेछु भन्दै चिन्तामा डुबेर आँखाबाट आँशु पनि बगाउछ ।


    मान्छेलाई हँसाउने र रुवाउने आफ्नै आत्माभित्र विराजमान श्रृष्टिको रचयिता त्यही भगवान हुन् भने पनि हुन्छ । भगवान स्वरुप पत्थर कागजमा छापिएका देवता होइनन् । ती आकारहरु कोर्ने कालाकारहरु हुन् । कलाकार जन्माउने उनका आमाबाबु हुन् । तिनी बाबु आमालाई जन्माउने तिनका बाबु आमा हुन् । यस्तै श्रृष्टिका पहिलो बाबुआमालाई श्रृष्टि गर्ने अर्का त जन्माउने को हो ? त्यही आत्मा स्वरुप भगवान, ईश्वर, गड, शिव जे भनेपनि त्यस्को नै निराकार ध्यान गरेमा त्यस्को सारतत्व बुझिन सक्छ ।

    हाम्रा वेद पुराण, कुरान, बाइकल, त्रिपिटक जे हेरे पनि त्यो तत्वको आकार नै छैन, शंकर, शिवलिङ्ग, रामकृष्ण, अल्लाह क्राइष्ट सबैका आकार छन् । बुद्धको पनि आकार छ, तर त्यो वास्तविक बुद्धको मूर्ति हुन सक्दैन, अनुमानले पछिका कलाकारहरुले निर्माण गरी प्रचार प्रसारमा ल्याइदिए, सबै शक्तिशाली देशका शक्तिशाली व्यक्तित्वहरुले स्वीकारी दिए अनि त्यही कलाकारको पहिलो कल्पना नै बुद्ध बने र पुजियो, बुद्धमं शरणम् गच्छछामी, धर्मम् शरणं गच्छामी बुद्ध जन्मदा न कलाकारका हातमा क्यामरा थिए, न त्यो बेला रंग बुरुस नै उत्पत्ति भैसकेको थियो, बुद्धले बुद्धत्व प्राप्त गरिसकेको तीन सय वर्ष पछिमात्र उनको प्रचार प्रसार भएको हो भनिन्छ भने के अहिलेको बुद्ध मूर्ति नै बुद्ध को होला ? भन्न सक्ने ठोस प्रमाणको संग कहाँ होला ?

    त्यसैले रामकृष्ण, रावणका पनि मूर्ति त्यस्तै हुन् । न रावणका दश शिरै थिए, दशशिर वालाका सन्तान आजभोलि कतै छैनन् किन ? दश शिरवालाका सन्तान कमसेकम ५ शिरवाला त यो धर्तिमा जन्मनु पर्ने होइन र धर्म एकप्रकारको संस्कार मात्र हो, विभिन्न सम्प्रदायहरुबाट सञ्चालित प्रतिपादित संस्कारलाई नै आजभोलि धर्मको रुपमा परिणत गरेर धेरै धर्मावलम्वीहरुको संख्या बढाएर, धर्मकै आडमा धर्मयुद्ध गर्दै विश्वभरी अशान्ति मात्र फैलाउने काम भएको छ ।

    सबै धर्मका जन्मदाता प्रभु एउटै थिए, जो निराकार मानिएका छन्, सबैबाट स्वीकार्य पनि गरिएका छन् । यो श्रृष्टिमा मान्छे कसरी किन आयो र आखिरमा कहाँ जान्छ भन्ने कुरा हालसम्म कसैले जान्न सकेको प्रमाण पेश गर्न सकेको छैन । सबै आआफ्नो अनुमान कल्पनाले मात्र विभिन्न सम्प्रदायहरु खडा गरेर, विश्वमा अशान्ति फैलाउने काम गरिरहेका छन् । न यहाँ वर्तमानका जिउँदा व्यक्तित्व रामदेवलाई थाह छ, न ओशोमार्गी काम देवतालाई नै थाहा छ न बुद्ध मार्गी, न क्रिश्चियन, न हिन्दु मार्गी, न मुस्लिम मार्गीलाई नै श्रृष्टिकर्ता यो नै हुन् भनेर भन्न सक्ने प्रमाण नै छ । अनुमानकै भरमा अकल्पनिय ग्रन्थका कुरा छाटेर अपराधको संख्या मात्र बढाइरहनु आजको अवस्थामा अराजकता मात्र ल्याउनु हो ।


    यसैले अब सबैखाले धर्मका ठेकेदार राष्ट्रहरुले विशाल विश्वधर्म सभाको आयोजना गरेर यस्ता प्रश्नहरुका उत्तर तयार गरेर विश्वभरीका जिवित मान्छेहरुमा शान्ति संग बाँच्न पाउने अधिकार सुनिश्चित गरी प्रचारप्रसार गर्नु आज आवश्यक भएकोछ । सबै मान्छेको आत्माभित्रको भगवानले भनिरहेको छ तिमी चिन्ता नगर म तिम्रो साथमा छु भनिरहेको छ । सबैले ५ मिनेट आआफ्नो छाती माथि दुबै हाल राखेर एकचित्त भएर एकपटक सोचेर हेरौं, यसैमा सबैको कल्याण छ ।

    कुनै पनि धर्ममा निःस्वार्थता पाइदैन, यस्तो स्वार्थपूर्ण कुनै पनि धर्मका पछाडी दौडेर यो दुई दिनको अमूल्य जिन्दगीलाई सुख शान्तिको सट्टा दुःखरुपी सागरमा डुबाएर समय बिताउनु राम्रो कुरा होइन । जुनसुकै धर्मका पछि लागे पनि यो शरीरले खुन पसिना बगाएर कमाएको दुईचार पैसा खर्च नगरि हुदैन । जता गएपनि धन पैसा खर्च नगरेसम्म धर्मात्मा बन्न सकिदैन ।

    आफ्नै मनभित्रका भगवानलाई नचिनेर बाहिरका विभिन्न धर्मका ठेकेदारहरुले थापेका जालहरु भित्र फस्न गएर सुन्दर शान्त सफा समुद्ररुपी पानी भित्रका माछाहरुझै चारो रुपी मोक्षका पछाडी लागेर मर्नु राम्रो कुरा होइन । आज विश्वमा फैलिएको धर्मरुपी जालभित्र नफसेका कुनै पनि मान्छे छैनन् सबै सचेत भएर यो जालबाट बाहिर निस्कन सबैले आजैदेखि प्रयास गर्दैरहे एक न एक दिन हामी सफल नभए पनि हाम्रा पछिका सन्ततिहरु यो जाललाई सदाका लागि समुद्रमा फालेर सुन्दर शान्त विश्वरुप्ी सागरमा माछा झै पौडी खेल्दै मोक्ष प्राप्त गर्नेछन् । ०००





अन्य समाचारहरु