स्वतन्त्र कलम

  • सबैको चित्त बुझाएर संविधान लेखाउन मुस्किल
    भीम बहादुर शाही
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    सबैको चित्त बुझाएर संविधान लेखाउन मुस्किल
    अरु कुनै देशमा नभएको काम नेपालमा हुने चलन अघि देखिकै हो । ज्ञानेन्द्रको पालामा पनि राज्य संचालन गर्न राजा पद छोडेर मन्त्री परिषद्को अध्यक्षमा आफु भएर तुल्सि गिरी र किर्तिनिधि विष्ट जस्ता २ जना भु.पु. मन्त्री आएका व्यक्तिलाई उपाध्यक्ष पदमा घोषणा गरेर एकतन्त्रीय शासन चलाएका थिए । एकै पार्टीका व्यत्तिलाई ३ जना उपाध्यक्ष बनाउने भए मन्त्रीमण्डलमा सामेल सबै जनालाई उपाध्यक्ष बनाई दिए भैहाल्यो ।


    अब पनि संविधान लेख्ने विचारमा कुनै दलका नेताहरु छैनन् भन्ने कुरा हालैको कचिंगलबाट पनि थाहा भैहाल्यो । सबैलाई पदमात्रै चाहियो र सबैलाई पैसा कमाउने मन्त्रालय मात्र चाहियो । नमूना प्रधानमन्त्री बनेर नया नेपाल बनाउने सपना देखेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सबै दलका नेताहरुको चित्त बुझाउन गाह्रो परेको छ । आखिरमा पुरानै रोगले भट्टराईलाई पनि छोइ सके जस्तो छ । सेनामा माओवादी लडाकुको संख्या तोक्ने र समायोजन गर्ने काममा जुटेका भट्टराईलाई आफ्नै पार्टीका वैद्य पक्षको विरोधका कारण असजिलो भएको छ ।


    माओवादी पार्टी भित्रैको किचलो नमेटिएको जस्तो बुझिन्छ । यसरी भट्टराईलाई आफ्नै पार्टीभित्रका विरोधी पक्ष मानिएका सभासद्हरुले अन्य दलका पदीय लालचामा फसेका दश पिचास मनोवृत्तिका व्यक्तिहरु सबैको चित्त बुझाएर सरकार चलाउनु फालमको च्युरा चपाउनु जस्तै हुनसक्छ ।

    देश र देशवासीका लागि सरकारमा जाने मन्त्रीहरुले जुनसुकै मन्त्रालयमा बसेर काम गरे हुन्छ । मन्त्री शब्दको अर्थ नै नजान्ने मन्त्री भएर डा. बाबुराम भट्टराईलाई के सल्लाह दिन सक्लान् ? मन्त्री शब्दकोअर्थ हुन्छ सल्लाहकार । सल्लाह दिन जान्ने योग्यता पुगेका व्यक्तिलाई मान्त्र मन्त्री पदमा नियुक्ति गरेमा मात्र राम्रो सल्लाह प्राप्त गरेर सरकार चलाउन सजिलो होला ।

    प्रधानमन्त्रीका चाहना सबै सकारात्मक देखिएपनि सहयोगी आफ्नै पार्टी भित्रका नेता र अन्य साना दलहरुबाट नकारात्मक सोच तेस्र्याएर बाटो बन्द गरिन लागेको जस्तो बुझिन्छ ।

    सतिको सराप परेको देशमा राम्रो काम गर्नेलाई सधैभरी अभागी राजकुमार बहादुर शाह बन्नुपर्छ । पुरानो सोचलाई दिमागमा नराखेर नयाँ
    सोचको बाटोतिर अगाडी बढ्न सबै नेताहरुलाई प्रेरणा मिलोस् नेपाली जनताको चाहना यही छ, सरकार होइन, संविधान चाहिएको छ । बरु सबै मन्त्रीलाई मन्त्री होइन उपप्रधानमन्त्री बनाएर पनि नेपालको संविधान तोकिएको अवधीमा नेपाली जनताले पाउन, यसैमा सबैको कल्याण हुनेछ । अस्तु ।





अन्य समाचारहरु