स्वतन्त्र कलम

  • नेपालका नेताले देउडा गीतको अर्थ बुझौं
    भीम बहादुर शाही
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    नेपालका नेताले देउडा गीतको अर्थ बुझौं

    थारा भैंसी गोठालो नाई, दही खोज्दी छ बिल्ली
    ठेग भाच्चियो टुप्पो सुक्यो, हागा छिल्ली बिल्ली


    यो पश्चिम नेपालमा गाइने देउडा गीतले नेपालको वर्तमान राजनीति अवस्थालाई झल्काउँछ । देउडा गीतको अर्थ सोझो रुपमा बुझिंदैन, घुमाउरो पाराले मात्र गीतको भाव बुझ्न सकिन्छ ।


    भैंसी नव्याउने थारा छन् भनेको नेताहरु थारा भैंसी जस्ता भएका छन् । यिनीहरु ६०१ थारा भैंसीलाई जनताको रगत पसिनाले तिरेको राजश्वले घाँस कुडो मात्र खुवाउनु छ, जनतालाई चाहिने दुध दिदैनन् । दुध भनेको संविधान हो, दही भनेको शान्ति हो, जनता भनेको विराला हुन सधै दही दुध खोज्दै म्याउ, म्याउ गर्दै रोएका छन् । विराला रुपी जनता, नेपाली भैंसी रुपी नेतालाई तह लगाउने राम्रो गोठाला छैन ।


    त्यसैले ठेग भनेको रुखको फेद हो फेद नभएको रुख झैं नेपालको शासन व्यवस्था भएको छ, टुप्पो भनेको रुखको शिर हो राष्ट्रियता भएको मान्छे नै छैन, त्यसैले विभिन्न पार्टीका नेताहरु भाँच्चिएको रुखका हाँगा यत्रतत्र छरिएझैं गरि छरिएका छन् भनेको हो । राष्ट्रियताका नाममा नेपाली टोपी लगाएर प्रधानमन्त्री, मन्त्री बनेर फुलका माला गलाभरी लगाएर मञ्चमा भाषण कुर्लनु मात्र ठान्ने नेताहरु भएका छन् । ६०१ जनामा सहमति आउने कुरै छैन कुकुर र बिराला र भैंसीमा कहिले पनि सहमति हुन सक्दैन । सबैले आआफ्नो स्वभाव प्रकट गरेरै छोड्छन् ।

    कुकुर जति अघाए पनि गुहू अर्थात् मान्छेको आची विष्टा भेटाएपछि खान छोड्दैनन् । विरालाहरु दही दुध भेटाएपछि चोरेर आँखा छलेर पनि खान छोड्दैनन् भने भैंसीहरु जति मोटा भएपनि घाँस भेटाए खान नछोड्ने र फोहोरी हिलो पानीको खाल भेटाए थचक्क बस्न नछोड्ने, खाल बसी सकेपछि उठ्न नचाहने स्वभावका हुँदा नेपालका नेताहरुका लागि सहमतिको कुनै अर्थ छैन, न सहमतिय सरकार बन्न सक्छ, न त संविधान नै समयमा लेखिन सक्छ ।


    राजनीति रुपी फोहरी आल भित्र बसेका भैंसी रुपी नेताहरु उठ्नै चाहँदैनन्, भैंसी नउठेसम्म सफा हुन पनि सक्दैनन् र सफा नभएसम्म दुध रुपी संविधान पाउन र गोठाला रुपी जनताले स्वाद लिन पनि सक्ने छैनन् । बरु जनताका आँखामा छारो हाल्दै एतिहासिक पुराना हतियार बेच्ने, पुराना बहुमूल्य पत्थर हिरा, गहना खोतल्दै, मूर्ति बेचेर पनि फुर्ती गर्ने हाम्रा नेताहरु भएकाले यो देशमा स्थायी सरकार बनेर नेपाली जनताले शान्ति सुरक्षा पाउलान् भन्ने आशा राख्नु भनेको चरित्रको दुध सरी भएको छ ।


    माधव गए झलनाथ गए, पशुपतिनाथ आउने होइनन् । उनै ६०१ मध्येका बाकी रहेका जुकाहरु नै आउने होलान् । खुब तान्न सक्ने जति तानेर पेट अघाए पछि गाई गोरुका किर्ना झरेझैं भरी झर्ने हुन् । तैपनि २०६८ मंसिर १४ गतेसम्म आशा गरौं । नेपाली जनताका लागि कोही जंगबहादुर नेपालमा जन्मन पनि सक्छ कि ? दुई चार महिना प्रधानमन्त्री, मन्त्री बन्यो, माला लगायो इतिहासमा नाम लेखायो, बस राष्ट्रियता कायम भयो । १३ दिनमा फुत्कने छौं भन्ने कुरा थाहा पाउदा पाउदै किन मन्त्री बन्ने लस्कर लागेको थियो नेताहरुको ? त्यसैले पनि यो कुराको पुष्टि हुन्छ ।


    नेपालमा फेरि एकपटक जंगबहादुर जस्ताको हिम्मतवाला पुरुषको जन्म हुनुपर्ने देखिन्छ । जंग बहादुर बिना छाडातन्त्र, गणतन्त्र र प्रजातन्त्रमा परिणत हुन असम्भव देखिन्छ । जस्ले जस्लाई जे गरेपनि हुने, कानुन मान्नै नपर्ने पार्टीले पर्शुराम जस्तालाई संरक्षण दिंदै जाने हो भने यो देशको संविधान कसरी कहिले कसले बनाउने होला ? यस्को जवाफ जनतालाई कसले दिने ?


    च्याट्टको चटनी होइजा चिनाको भात होइजा
    मनपरेकी माया होइजा जुनेली रात होइजा

    ०००






अन्य समाचारहरु