स्वतन्त्र कलम

  • डा. भट्टराईले पाएको नासो नेपालीको लागि पासो नबनोस्
    भीम बहादुर शाही
    २०६८ मंसिर ६ गते मंगलवार November 22 2011

    डा. भट्टराईले पाएको नासो नेपालीको लागि पासो नबनोस्
    केही समय अघि संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन गएका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुलाई पढाउने गुरु आमालाई समेत भेट गरेर नेपाली उपहार करुवा र नेपाली चिया चढाउने अवसर पाउनु भयो । आफुले पढाएको चेलो नेपालको प्रधानमन्त्री बन्ला भन्ने कल्पना नै नगरेकी गुरु आमालाई आफ्नो घरमै प्रधानमन्त्री दम्पत्ति सहित पाउँदा उनी खुशीले गद्गद् हुनु स्वभाविकै थियो ।


    यता नेपालमा १० वर्षे जनयुद्ध कालमा धेरै नेपालीका गुरुहरुलाई चरम यातना दिएर मारेको क्षणहरुलाई चटक्क बिर्सेर भट्टराई दम्पत्ति आफुलाई पढाउने गुरुको सेवामा उपहार सहित पुग्नु भएकोमा हाम्रा गुरु पनि बाँचेका भए त्यसैगरी उपहार चढाउँदा हुँ र त्यसैगरी आशीर्वाद पाउने थियौं भन्ने चाहना राख्ने नेपाली विद्यार्थीहरुका लागि डा. भट्टराईले केके नै नासो ल्याएर आउने होलान् भनेर ठूलो आशा बोकेका नेपालीका लागि उहालाई पढाउने गुरु आमाले हातमा बाइबलको किताब थमाएर ३ मिनेटसम्म प्रार्थना मात्र गराएको देखेर नेपालीहरु छक्क परेका छन् ।


    आतंककारीको सूचिबाट माओवादीका नाम पनि हटाउन नसकेकोमा आफ्नै पार्टीका कार्यकर्ताहरु असन्तुष्ट मात्र भएका छैनन्, उहाँको पनि प्रचण्ड झंै कुम हल्लाएर कुरा गर्ने बानीको विकास भएकोमा सबै निरास भएका छन् । फेरि सहमति पछिको ४५ दिनको अवधि भनेकोछु भन्ने र कुरा बदल्नु भएको हुँदा कुर्चीकै मोह भट्टराईलाई पनि लागिसकेको झै लाग्यो । भदौ ११ गते नियुक्त भएपछि ४५ दिनभित्र शान्ति प्रक्रिया र सुशासनमा प्रगति नभए सरकारमा आफु नबस्ने घोषणा आफैले गरेका प्रधानमन्त्री डा.भट्टराईले आफ्नो भनाई बदल्दै अमेरिकाबाट फर्कने क्रममा पत्रकार सामु झुठ्ठा बोल्न पनि परेनन् । हुनतः नेपालका नेताहरुका लागि यस्ता कुरा अनौठा त होइनन् नेपाली नेताका बोली, आज एक त अर्कै बोल्छन् भोलि ।


    सत्ता पाए मात्तिने नपाए आत्तिने नेपाली नेताहरुको स्वभावै हो । कोही नेता आफै रक्षामन्त्रीमा पदासिन भएर २२ जिल्ला तराईका अलग गराउन सक्ने धम्की दिंदै देशलाई विखण्डन तिर लैजाने जस्ता शब्दहरु ओकल्दैछन् । आफै झाँक्री बोक्सी जस्ता नेताहरुबाट देशको रक्षा कसरी हुन सक्ला र ?


    रक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी दिइएको छ । हाँसको बथानमा बकुल्ला झै देखिने नेताहरु पदका लागि मात्र अन्य पार्टी प्रवेश गरेर देशको अस्मिता गुमाउने दुष्प्रयास गरिरहेकाछन् । नेपालको अखण्डता जोगाउन सकेमात्र हामी सबै नेपाली बन्न सक्ने कुरा नेताहरुले चटक्कै बिर्सी दिन भएन । फेरि धर्म निरपेक्ष स्वीकार गरी आफ्नो नाम निशान मेटाउन चाहेको होइन । हिन्दूहरु अन्य धर्मको पनि सम्मान गर्छन् र आफ्नो धर्म पनि जोगाई राख्न सधै तत्पर रहन्छन् । धर्मको लागि कुनै पनि राष्ट्र सामु घुडा टेक्न हिन्दू तयार छैनन् । चाहे बाइबल प्रधानमन्त्रीले हात थापेर ल्याउन्, चाहे कुरान राष्ट्रपतिले वा त्रिपिटिक सभामुखले हात थापेर ल्याउन् धर्मको लागि हिन्दूहरुले धेरै रगत बगाई सकेको इतिहास साक्षी छ ।

    हिन्दू सिन्धु बन्न सक्छ, तर सिन्धु हिन्दू भएर नेपालीलाई नास गर्नु कदापि सक्ने छैनन् । नेपालमा सगरमाथा रहेसम्म हिन्दूहरुको अस्तित्व मेटिने छैन । प्रधानमन्त्रीज्यूले गुरु आमाबाट पाएको नासो नेपाली जनताका लागि पासो नबनोस्, गुरुको उपहार चेलाकै लागि मात्र काम लाग्न सकोस् । नेपाली जनतालाई चाहिने बाइबल होइन, नयाँ संविधान चाहिएको छ । बरु गुरु आमाको ३ मिनेटको प्रार्थनाबाट तीन चिज नेपाली जनतालाई मिलोस् शान्ति, सुरक्षा र संविधान । अस्तु





अन्य समाचारहरु