हाम्रो स्वास्थ्य / हाम्रो चासो

  • लायन्सका महिलाहरु कस्सिए मातृ सेवा अस्पताल बनाउन
    .
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    लायन्सका महिलाहरु कस्सिए मातृ सेवा अस्पताल बनाउन
    नेपालगन्ज/ लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीका महिलाहरु मातृसेवा आस्पताल निर्माण गर्न कम्मर कसेर लागेका छन् । पश्चिम नेपालकै पहिलो महिला लायन्स क्लबले लायन्स बागेश्वरी मातृसेवा आस्पतालको नामाकरण गरिएको प्रस्तावित अस्पतालको संविधानसभाकी उपाध्यक्ष पूर्णा कुमारी सुवेदीले एक समारोहका वीच सिलान्याश गर्नु भयो ।


    अस्पतालको सिलान्याश पछि आयोजित कार्यक्रममा अस्पताल निर्माणका लागि स्वतःस्फूर्त रुपमा सहयोगको घोषणा गर्ने स्थानीय बासिन्दा, व्यवसायी, लायन्स सदस्यहरुको प्रतिस्पर्धा नै भयो । यो उत्साहजनक प्रतिस्पर्धाले अस्पताल निर्माण गर्ने जस्तो संकल्प बोकेका लायन्स आवद्ध महिलाहरुमा नयाँ जोस र उर्जा थपिएको देखियो ।


    सो अवसरमा अस्पताल निर्माणका लागि आफ्नो क्लबको तर्फबाट घोषित १५ लाख रुपैयाँ समेत करीब ३५ लाख सहयोग घोषणा भएको कार्यक्रम पछि क्लबका अध्यक्ष सरिता शाक्यले जानकारी दिनुभयो ।


    उपाध्यक्ष सुवेदीले सम्वोधन गर्दै महिलाहरुद्वारा नै मातृसेवा आस्पताल निर्माण थालिएकोमा सराहना गर्नुभयो । निर्माणाधीन उक्त अस्पतालका लागि विभिन्न राजनैतिक दलहरुले पनि आआफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिंदै उपाध्यक्ष सुवेदीले आफूले पनि सक्दो सहयोग गर्ने र सरकारबाट पनि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


    उपाध्यक्ष सुवेदीले संविधानको नयाँ कार्यतालिका अनुसार काम अगाडी बढिरहेको बताउँदै यसका लागि जनताले पनि खवरदारी गरिरहनुपर्ने बताउनु भयो ।


    सो कर्यक्रममा सभासद् मोहम्मदी सिद्दिकी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार शर्मा लगायतले बोल्नु भएको थियो ।


    लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीले १५ वर्ष अघि अस्पताल निर्माण गर्ने सपना देखेको र अब साकार हुने तर्फ उन्मुख भएको प्रतिक्रिया क्लबका संस्थापक अध्यक्ष अनुश्री श्रेष्ठले दिनु भयो ।


    नेपालगन्ज नगरपालिका कार्यालयले गणेशपुर५ मा अस्पताल निर्माणका लागि ७ कठ्ठा जमिन उपलब्ध गराएपछि अस्पताल बनाउन क्लबका महिलाहरुले यसरी कम्मर केका हुन् ।


    अस्पताल निर्माणका लागि ३ करोड ५० लाखको ईस्टिमेट तयार गरिएको र तीन चरणमा ओपिडी सेवा, आकस्मिक सेवा, प्रयोगशाला, अन्तरङ्ग विभाग र शल्यक्रिया ब्लक निर्माण गरिने अध्यक्ष शाक्यले जानकारी दिनु भयो ।





अन्य समाचारहरु