मुख्य समाचार

  • भगत सिंहद्वारा सशस्त्र गतिविधि बन्द गरेको घोषणा
    -कुमार श्रेष्ठ
    २०६८ माघ १८ गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लाथ्वः९ JANAMAT(Bi-Weekly) February 1, 2012

    भगत सिंहद्वारा सशस्त्र गतिविधि बन्द गरेको घोषणा
    नेपालगन्ज/ बाँके बर्दिया जिल्ला लगायत तराईका अन्य जिल्लाहरुमा हत्या, अपहरण, चन्दा आतंक र बम विष्फोट लगायतका सशस्त्र गतिविधि संचालन गराउँदै आएको तराई जनतान्त्रिक मधेश मुक्ति पार्टीले सोमवारदेखि युद्धविरामको घोषणा गरेको छ ।


    सरकारले वार्ताका लागि पत्राचार गरेपछि त्यसको सकारात्मक जवाफ पठाएको उक्त पार्टीले मंगलार वार्ता टोली गठन गर्ने जानकारी सहित सोमवारदेखि सम्पूर्ण सशस्त्र गतिविधि बन्द गरेको घोषणा गरेको हो । बाँके जिल्ला प्रहरी प्रमुखमा उपरीक्षक विक्रम सिंह बाँकेमा सरुवा भएर आएदेखि नै सार्वजनिक रुपमै उनलाई सशस्त्र गतिविधि बन्द गर्न चेतावनी दिएर कार्यवाही सशक्त बनापछि सर्वाधिक खोजीमा रहेका उक्त पार्टीका अध्यक्ष एवं सर्वोच्च कमाण्डर भगत सिंहले सशस्त्र गतिविधि बन्द गरेको घोषणा गरेका हुन् ।


    शान्ति मन्त्रालयलाई सिंहले पठाएको पत्रमा अखण्ड नेपालप्रति उनले प्रतिबद्धता जनाएको बताइएको छ भने तराईलाई हिंसामुक्त गर्न सरकारी प्रतिबद्धता उनले खाजेका छन् । शान्ति मन्त्रालयको पत्रको सकारात्मक उत्तर पठाएका सिंहले मंगलवार पाच सदस्यीय वार्ता टोली गठन गर्ने जानकारी दिए ।


    पोलिटब्यूरो, उपाध्यक्ष र केन्द्रीय सदस्य सात जना मध्येबाट पाच जनालाई वार्तामा पठाउने तयारी भएको सिंहले बताए । जनतान्त्रिकको थारुवान इञ्चार्ज पवन सिंहको संयोजकत्वमा वार्ता टोली बन्न सक्ने बताइएको छ । उक्त समूहका दर्जन बढी प्रतिबद्धता र माग सम्मिलित एजेन्डा सरकारका प्रतिनिधिलाई बुझाउने जनाएको छ ।


    विगत पाच वर्षदेखि भारतीय भूमिमा बसेर बाँके, बर्दिया लगायतका तराईका जिल्लामा कयौंको हत्या, अपहरण, चन्दा आतंकको आरोपमा प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेका भगत सिंहले वार्ता गरेर शान्तिपूर्वक स्वतन्त्र जीवन बिताउन चाहेको बताए । बाँके हिरमिनिया निवासी अर्जुन सिंह शिख उर्फ भगत सिंहलाई २०६४ जेठ २ गते राती तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस सिताराम विष्टको हत्या प्रयासको अभियोगमा प्रहरीले नौ दिनपछि पक्राउ गरेपनि अदालतबाट २५ दिनपछि छुटेका थिए ।


    नेपालगन्जको चारबाहिनी रोडमा ग्रिल उद्योग सञ्चालन गरेर बसिरहेका बेला तत्कालीन क्याम्पस प्रमुख विष्टलाई गोली हानेको आरोपमा पक्राउ परेर छुटेपछि भगतसिंहले भूमिगत जीवन शुरु गरेका हुन् । त्यसपछि सिंहकै निर्देशनमा बाँके सीतापुर गाविस सचिव इन्द्रबहादुर श्रेष्ठ, खजुराका प्रकाश श्रेष्ठ, बेतहनीका सीता राम गोडिया, बर्दियाका पूर्व मेयर गोविन्द प्रसाद पाण्डे लगायतको हत्या गरिएको प्रहरीको आरोप रहेकोछ ।


    सिंहले वार्ता टोली गठन गरेपछि सरकारी अधिकारीले तोकेको समयमा वार्ता हुने बताउनु भयो । शान्तिमन्त्री सत्या पहाडीको संयोजकत्वमा विना विभागीय मन्त्री राजुराल यादव र गृहराज्यमन्त्री भिमराज राजबंशी चौधरी सम्मिलित तीन सदस्यीय सिंहसंग वार्ताको लागि तयारीमा अवस्थामा रहेका छन् । गत शनिवार भगतसिंहको पत्र पाएको सरकारी टोलीले उसको वार्ता टोलीको प्रत्यक्ष गरिरहेको जनाइएको छ ।

    बाँके या बर्दियामा केही दिनमै पहिलो वार्ता हुने स्रोतले बताएको छ । यसअघिका शान्ति मन्त्रीले पनि भगतसिंहसंग वार्ताको प्रयास थालेका थिए । तर, सिंह सम्पर्कमा आउन चाहेका थिएनन् । शान्तिमन्त्री रकम चेम्जोङ र त्यसपछिका शान्ति मन्त्रीहरुले पनि सिंहसंग वार्ताका लागि पहल गरेका थिए । भनिन्छ त्यतिबेला एमाले र माओवादीका स्थानीय नेताहरु भगत सिंहलाई भेट्न धेरै पटक धाएका थिए ।


    बाँके प्रहरीले भगत सिंहलाई सिध्याउने अभियान तिब्र पारेपछि उनी आत्तिएको विश्लेषण पनि प्रहरी निकायबाट गरिएको छ । भगतसिंहकी श्रीमती सत्नाम कौरले पनि हत्या, हिंसाको बाटो छोडेर शान्तिपूर्ण जीवनमा फर्किन सल्लाह दिदै आएको बताउनु भएको थियो । तीन दिनअघि हिरमिनियास्थित उहाको घरमै पुग्दा श्रीमती कौरले दुनियाको मुक्तिलाई छोडेर व्यक्तिगत फाईदाका लागि सशस्त्र गतिविधि छोडेर साधारण जीवन बिताउन मिडियाबाटै अनुरोध गरेकी थिइन् ।


    बाँके प्रहरी प्रमुख विक्रमसिंह थापाले जिल्लामा आउने बित्तिकै भगतसिंहलाई सिध्याउने उद्घोष गरेर अप्रेसन थालेपछि सिंहले पनि आफ्नो उपस्थिति देखाउन बम विष्फोट गराइरहेका थिए । पछिल्लो दिनमा भगतसिंहले व्यस्त सडकको वीचमा बम
    राखेका थिए ।
    भगतसिंहले सशस्त्र गतिविधि अन्त्य गरेर शान्तिपूर्ण वार्तामा आउने घोषणा गरेपछि यस क्षेत्रका बासिन्दामा खुशियाली छाएको छ ।





अन्य समाचारहरु