मुख्य समाचार

  • दलीय विवाद शान्ति र संविधान निर्माणमा सहयोगी : सुवेदी
    .
    २०६८ माघ ८ गते आइतवार नेपाल सम्वत् ११३२ पोहेलागाः१३ JANAMAT(Bi-Weekly) Janaury 22, 2012

    दलीय विवाद शान्ति र संविधान निर्माणमा सहयोगी: सुवेदी
    खजुरा/ संविधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुवेदीले शान्ति र संविधान तोकिएको समयमा सम्पन्न हुने बताउनु भएको छ । बाँके खजुरामा प्रखर परोपकार मिसन नेपालको पाचौं साधारण सभाको उद्घाटन गर्दै उपाध्यक्ष सुवेदीले सो कुरा बताउनु भएको हो ।


    विवादित विषयमा सहमति खोज्न राजनीतिक दल वीच व्यापक छलफल र बहस भैरहेको बताउँदै उपाध्यक्ष सुवेदीले राजनीतिक दल वीच देखिएको वर्तमान विवाद, सहमति असहमति र छलफलले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने र संविधान निर्माण कार्यलाई मद्दत नै मिलेको दावी गर्नु भयो । राज्यको शासकीय स्वरुपका बारेमा विभिन्न विज्ञहरुबाट राय सुझाव आइरहेको बताउदै सुवेदीले राजनीतिक दलहरु वीच भइरहेको छलफल र बहसले दलित, मुस्लिम, महिला लगायत पछाडी परेका समुदायको अधिकार सुनिश्चित गर्न मद्दत पुगेने समेत दावी गर्नु भयो ।


    शान्ति र संविधानका बारेमा शंका नगर्न आश्वस्त पार्दै उहाँले राजनीतिक दलहरुले जनता समक्ष गरेको बाचा पूरा नगरे देशमा भयावह स्थिति आउन सक्ने सम्भावना व्यक्त गर्नुभयो । संविधान निर्माणका क्रममा देखिएका विवाद छलफलको माध्ययमबाट समाधानको बाटो खुल्दै गएको र सहमतिको प्रक्रिया जारी रहेको उल्लेख गर्दै उपाध्यक्ष सुवेदीले पछिल्लो समयमा राजनीतिक दलहरु सक्रिय भएर लागेको दावी गर्नु भयो ।


    उपाध्यक्ष सुवेदीले यस क्षेत्रका जनताद्वारा संकल्प गरिएको नेपाल क्यान्सर अस्पतालको हालसम्म भएको प्रगतिको सराहना गर्दै भवन निर्माणका लागि देखाइएको एकता र तत्परताले निरन्तरता पाओस् भन्नु भयो ।


    सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य देवराज भारले अस्पतालले क्यान्सर रोगको उपचारका साथ प्रतिकारात्मक सेवा पनि दिनुपर्ने सुझाव दिनु भयो ।


    निर्माण विकास सबैको साझा मुद्दा हुन्, त्यसैले दलीय संयन्त्र विकास र अनुगमनका लागि सक्रिय हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
    यसैगरि उक्त कार्यक्रममा एमाओवादीका जिल्ला इञ्चार्ज प्रकाश सुवेदी, नेपाली काँग्रेसका पूर्व अध्यक्ष कृष्णमान श्रेष्ठ, नेकपा एमाले बाँकेका सहसचिव रत्न खत्री, फोरम लोकतान्त्रिकका अध्यक्ष हिरालाल लोनिया, जनमोर्चा नेपालका बाँके अध्यक्ष मैमुना खातुन, सद्भावना पार्टीका गिरिजा पाठकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


    सोही अवसरमा स्थानीय विकास अधिकारी विश्वराज डोटेल, जिशिअ भक्त ढकाल, अस्पतालका वरिष्ठ सल्लाहकार उत्तमराज घिमिरे, सल्लाहकार पूर्णलाल चुके, अर्वूद रोग निवारण संस्थाका अध्यक्ष सुशीला कार्की लगायतले बोल्नु भएको थियो ।


    अध्यक्षको आसनबाट किस्मत कुमार कक्षपतिले संस्था र अस्पतालको पृष्ठभूमि र वर्तमान अवस्थाका बारेमा विस्तृत चर्चा गर्दै अस्पतालको वहिरंग सेवा आगामी बैशाख महिनामा शुरु गर्ने योजना रहेको बताउनु भयो । उहाँले अस्पतालको पूर्णता दिन सरकारी र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनु भयो ।


    स्वागत भाषण गर्दै उपाध्यक्ष तथा निर्माण समितिका संयोजक शिवराज श्रेष्ठले करीब सात करोडको लागतमा पहिलो चरणको निर्माण कार्य सकेर छिटो भन्दा छिटो अस्पताल सञ्चालनमा ल्याइने बताउनु भयो । संयोजक श्रेष्ठले ओपिडी र थेरापी सेवा छिट्टै सन्चालनका लागि भरतपुर क्यान्सर अस्पतालले समेत सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ, श्रेष्ठले बताउनु भयो ।


    भवन निर्माणका लागि हाल नेपाल सरकारबाट प्राप्त ५ करोड रुपैयाको ठेक्का भई काम शुरु हुदैछ । श्रेष्ठका अनुसार हालसम्म करिब तीन करोड रुपैया बढि निर्माणमा खर्च भइसकेको छ । भवन निर्माणमा २ करोड ७३ लाख ८ हजार, बाउण्डी पर्खालमा २३ लाख ६१ हजार, बैठक कोठाका लागि १ लाख ६४ हजार ८२३, पुरानो भवन मर्मतमा १ लाख २८ हजार रुपैयाँ खर्च भएको छ ।


    यसैगरी १ लाख ६३ हजार ८४८ रुपैयाँ पनि मर्मतमा खर्च भएको छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले क्षति पुयाएको भवनमा मर्मत सम्भार भएको हो । सरकारले आर्थिक वर्ष ०६७/०६८ मा ५ करोड अनुदान उपलब्ध गराएको र चाल आर्थिक वर्षमा पनि थप ५ करोड अनुदान दिने घोषणा गरिसकेको छ ।


    सचिव कमलराज रेग्मीले संचालन गर्नु भएको उक्त सभाको बन्द सत्रमा महासचिव चिनीया राम आचार्यको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोपाल तिवारीको आर्थिक प्रतिवेदन माथि व्यापक छलफल पछि सर्वसम्मतबाट पारित गरिएको थियो ।





अन्य समाचारहरु