मुख्य समाचार

  • सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा जोड
    -उमा मगर
    २०६८ पुस १७ गते आइतवार नेपाल सम्वत् ११३२ थिँलाथ्वः११ JANAMAT(Bi-Weekly) Janaury1, 2012

    सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा जोड
    नेपालगन्ज/सुर्तीजन्य पदार्थका विरुद्ध नागरिक समाज संगठित भई आवाज उठाएमा सुर्तीजन्य पदार्थ सेवनमा कमी आउने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाले बताउनु भएको छ ।


    नागरिक आफैले सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने भावना लिएर आफू पनि जागरुक भई अरुलाई पनि जागरुक गराउन सकेमा त्यो सबैभन्दा ठूलो उपलब्धीपूर्ण हुने प्रहरी उपरिक्षक थापाको भनाई छ ।


    शुक्रवार नेपालगन्जमा आयोजना गरिएको स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण जिल्ला सञ्जालहरुको क्षेत्रीय गोष्ठीमा प्रहरी उपरिक्षक थापाले उक्त विचार व्यक्त गर्नु भएको हो ।


    आफू यस जिल्लामा प्रहरी प्रमुखको रुपमा आएको एक महिनाको अवधिमा आफूले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु माथि कार्यवाहीको प्रक्रियामा लगिएको बताउँदै उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐनलाई कार्यान्वयन गराउनका लागि प्रहरी प्रशासनको तर्फबाट पहल भइसकेको बताउँदै अब नागरिक समाज जुर्मराउनु आवश्यक भएको कुरामा जोड दिनुभयो ।


    सुर्तीजन्य पदार्थ सेवन गर्न बनेका कानुनले मात्र उपलब्धी हासिल गर्न कठिनाई हुने बताउँदै उहाँले हामी आफै पहिले सचेत हुनुपर्छ अनि मात्र समाजमा रहेका कुरीतिहरुलाई परिवर्तन गर्न सकिने बताउनु भयो ।


    प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र (रेस्फेक) र स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण सञ्जाल, बाँकेको आयोजनामा भएको उक्त गोष्ठीमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफूहरुले पनि आआफ्नो क्षेत्रबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


    यसरी प्रतिवद्धता व्यक्त गर्नेहरुमा एकीकृत नेकपा माओवादीका विन्दु सापकोटा, नेकपा एमालेका मौलाना अब्दुल जब्बार मन्जरी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका एम.एच. अन्सारी फैजल र तमलोपाका विष्णु लाल कुमाल रहेका छन् ।

    सञ्जालका क्षेत्रीय संयोजक पूर्णलाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा रेस्फेकका कार्यक्रम अधिकृत कामना मानन्धर र जिल्ला जनस्वास्थ्य कार्यालयका अंगद बहादुर शाहीले सुर्तीजन्य पदार्थको अवस्था, यसलाई नियन्त्रण गर्न बनेका विधेयक लगायतका विषयमा प्रस्तुती गर्नु भएको थियो ।

    क्षेत्रीय गोष्ठीमा सहभागी विभिन्न जिल्लाबाट आएका सहभागीहरुले तीन बुँदे निर्णय समेत गरेको छ । जसमा सुर्तीजन्य वस्तु नियन्त्रण नियमन विधेयकको परिच्छेद६ को उप दफा १९ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिको व्यवस्था गरिएको र सो समितिमा जिल्ला सञ्जालको तर्फबाट पनि सदस्य राख्न रेस्फेक मार्फत् पहल गर्ने, सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन गत साउन २२ गतेदेखि लागु भइसक्दा पनि त्यसलाई कार्यान्वयन गराउन नियमावली नबनेकोमा ध्यानाकर्षण गराउने र २०६८ कार्तिक १८ गतेदेखि सुर्तीजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत जनचेतनामूलक सन्देश देखिने गरी बट्टा निर्माण गरिनुपर्नेमा नगरिएको प्रति दबाब दिने निर्णय गरिएको छ ।


    गोष्ठीमा बाँके, बर्दिया, दांग, जाजरकोट, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट र जुम्लाका दुई दर्जन सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    उक्त जिल्लाका प्रतिनिधिहरुले आआफ्नो जिल्लाका सञ्जालका गतिविधिहरु र भावी योजना प्रस्तुत गरेका थिए ।





अन्य समाचारहरु