मुख्य समाचार

  • सञ्चारमन्त्री गुप्ता भ्रष्टाचारको अभियोगमा जेल चलान : विशेषका न्यायाधीशलाई पनि कार्यवाहीको फैसला
    -पूर्ण लाल चुके
    २०६८ फागुन १० गते बुधवार नेपाल सम्वत् ११३२ सिल्लागाः–१५ JANAMAT(Bi-Weekly) February 22, 2012

    सञ्चारमन्त्री गुप्ता भ्रष्टाचारको अभियोगमा जेल चलान : विशेषका न्यायाधीशलाई पनि कार्यवाहीको फैसला
    नेपालगन्ज/ मधेशी नेता जय प्रकाश गुप्ता भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएका छन् । प्रधानमन्त्री डा. बाबु राम भट्टराईको मन्त्री परिषद्मा सञ्चारमन्त्री रहेका गुप्तालाई  भ्रष्टाचारको अभियोगमा मंगलवार सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै फैसला गरेको हो ।


    सर्वोच्च अदालतका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले यसअघि विशेष अदालतले निर्दोष ठहर गरिएका मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष समेत रहेका गुप्ताको फैसला उल्टाउ“दै रु.८४ लाख ९ हजार ९२८ बराबरको अवैध सम्पत्ती आर्जन गरेको ठहर गरेको हो । सर्वोच्चले सो अनुसारको बिगो र एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ ।


    गुप्ताले अकुत रुपमा आर्जित सम्पत्ती वापतको जरिमाना सहितको रकम रु. एक करोड ६८ लाख १९ हजार ८५६ र डेढ वर्ष जेल साजायँ भोग्नु पर्ने फैसलामा जनाइएको छ । फैसला पछि गुप्ताले सञ्चारकर्मी मार्फत् मन्त्री पदबाट त्यागेर आत्मसमर्पण गरी जेल गएका थिए ।


    अभियुक्त गुप्ता अब मन्त्री मात्र होइन संविधानसभाको सभासद् पदबाट पनि स्वतः मुक्त भएका छन् । निर्वाचन सम्बन्धि कानून अनुसार गैरकानूनी रुपमा सम्पत्ती आर्जन गरेको र भ्रष्टाचार गरेको अन्तिम अदालतबाट ठहर भएपछि सार्वजनिक पदबाट स्वतःपदमुक्त हने व्यवस्था छ ।

     

    सर्वोच्चले फैसला गरेपछि गुप्तालाई सर्वोच्चको परिसरबाटै ट्रकमा राखेर जेल लगिएको हो । संविधानको धारा ६७ मा उल्लेख भए बमोजिम जेल सजायँ भुक्तान गरी मुक्त भएपछि पनि त्यस्ता दोषी व्यक्ति कुनै पनि सार्वजनिक पदमा जान र जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार हुन पाउँदैनन् ।


    मन्त्री र सभासद्हरु भ्रष्टाचार र अपराधिक गतिविधिमा संलग्न भएको देखेर प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै  राजनीतिको आडमा भ्रष्टाचार मौलाएको, माथिल्लो तहको राजनीतिक र प्रशासनिक नेतृत्वमा बढी भ्रष्टाचार हुने गरेको स्वीकार्नु भयो ।

     

    गत साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आयोगद्वारा आफ्नो स्थापनाको २१ वर्षसम्म विशेष अदालतमा ९ सय ५७ वटा मुद्दा दर्ता गरिएको थियो जसमध्ये हालसम्म ७ सय ५८ वटा मुद्दा फैसला भइसकेका छन् भने १ सय ९९ वटा मुद्दा विशेष अदालतमा विचाराधीन रहेको जनाइएको छ । सञ्चारमन्त्री गुप्ता माथि अख्तियारले २ करोड बढीको सम्पत्ति भ्रष्टाचारबाट आर्जन गरेको आरोप साहित मुद्दा दायर गरेको थियो ।

    अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका जेपी गुप्तालाई जेल चलान गरिएपछि मधेसी जनअधिकार फोरम गणतान्त्रिक नेतृत्वविहीन भएको छ । पार्टी अध्यक्ष नै जेलमा परेपछि पार्टी नेतृत्व कसले कसरी गर्ने भन्ने विषयमा अहिले फोरम गणतान्त्रिकमा अन्यौल देखिएको छ  । सर्वोच्चको फैसलाका विषयमा छलफल गर्न आज बस्ने भनिएको बैठक पनि अन्योलमा रहेको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पार्टीको बैठक भोलि बस्ने भएको विना विभागीय मन्त्री तथा वरिष्ठ नेता राजलाल यादवले जानकारी गराए ।


    यसअघि व्यापारी अपहरण काण्डका प्रमुख अभियुक्त सभासद् श्यामसुन्दर गुप्तालाई जेल चलान गरिएकोछ । १७ वर्ष कैद गर्ने, ८५ लाख रुपैयाँ विगो भराउने र ८५ लाख रुपैयाँ नै जरिवाना गर्ने माग सहित काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको थियो । व्यापारी पवन संघाईको अपहरण गरी ८५ लाख रुपैयाँ असुल गरेको अभियोगमा एक महिना अघि गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । संघाईलाई २० दिनसम्म बन्धक बनाएकोले गुप्ताका साथमा आकाश लामा, जीत बहादुर गोले, अमिर आचार्य, किशोर पाण्डे र विष्णु लक्षनलाई पनि जेल गरेको थियो ।





अन्य समाचारहरु